प्रहरी अनुसन्धानमा गल्ती भएको उच्च स्तरीय समितिको निष्कर्ष



काठमाडौं ।
निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित उच्च स्तरीय समितिले प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापालाई पेस गरिएको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री थापालाई प्रतिवेदन बुझाएको हो । घटनामा दोषी दाबी गर्दै पक्राउ गरी यातना दिइएका र पछि डिएनए परीक्षणबाट पुष्टि नभएपछि रिहा भएका दिलीपसिंह विष्टलाई सरकारले उपचार गर्नुपर्ने विषय प्रतिवदेनमा समेटिएको छ ।

घटनाको वास्तविक दोषी पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा गोली चलाइएको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी र एसपीसँग पनि समितिले बयान लिएको थियो ।

प्रदर्शनका क्रममा आफूले गोली चलाउन एसपीलाई कुनै आदेश नदिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले समितिलाई वयानमा बताएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, समितिले गत ३० गते बुझाएको प्रारम्भिक प्रतिवेदनको सिफारिस अनुसार गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षकहरू ज्ञानबहादुर सेटी र अङकुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो ।

कञ्चनपुरकी बालिका पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा गत साउन ११ गते शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्