दुई महिनामै १ अर्ब राजस्व



सरोज यादव,विराटनगर ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको दुई महिनामै १ अर्ब ५ करोड १९ लाख ८९ हजार राजस्व संकलन गरेको छ । सो अवधीको लक्ष्य ९२ करोड ३० लाख ४५ हजार रहेकोमा लक्ष्यभन्दा १३ दशमलव ९६ प्रतिशत बढी राजस्व संकलन भएको हो । गत आर्थिक वर्षको तुलनामा ३५ प्रतिशतले बढी हो ।

सो कार्यालयका प्रमुख दिलिप गौतमका अनुसार गत आर्थिक वर्षमा स्वास्थ्य सेवा शुल्कबाट १२ करोड ३९ लाख ५१ हजार र शिक्षा सेवा शुल्कबाट २ करोड ७६ लाख ७८ हजार राजस्व संकलन भएको थियो । सरकारले चालु आर्थिक वर्षबाट दुवै कर हटाएको छ । र पनि राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको छ ।

गत आर्थिक वर्षमा आन्तरिक राजस्व कार्यालय विराटनगरले ५ अर्ब २१ करोड ३४ लाख ६९ हजार राजस्व संकलन गरेको थियो । ५ अर्ब ४६ करोड ४९ लाख ५० हजारको लक्ष्य रहेकोमा लक्ष्यभन्दा ४ दशमलव ६२ प्रतिशत कम असुली भएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा भने १६ दशमलव ७१ प्रतिशतले बढी राजस्व असुली गरेको थियो ।

सो कार्यालयले संकलन गर्ने राजस्वमा आय कर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क वहाल कर र व्याज कर पर्दछन् । त्यसमा १ अर्ब ६२ करोड २९ लाख आयकरबाट गत आर्थिक वर्षमा राजस्व संकलन भएको थियो ।

त्यस्तै मूल्य अभिवृद्धि करको शीर्षकबाट १ अर्ब २१ करोड ८० लाख ७० हजार, अन्तः शुल्कबाट २ अर्ब ५ करोड ४४ लाख ९२ हजार संकलन भएको थियो । त्यस्तै ब्याज करबाट ५ करोड ९३ लाख र बहाल करबाट १० करोड ७० लाख राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्