रेगनकी छोरीको खुलासा



वासिङ्टन, (एजेन्सी)
पूर्वअमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र नेन्सी रेगनकी छोरी लेखिका पेटी डेविसले आफूले अनुभव गरेको यौन उत्पीडनका बारेमा लेख प्रकाशित गरेकी छिन्। बे्रट क्याबेनागमाथि आरोप लगाएकी क्रिस्टिन ब्लेसी फोर्डजस्ता महिलाले किन आफ्ना पीडादायी घटनाका सबै कुरा बाहिर ल्याउन सक्दैनन् भन्ने बताउन डेविसले आफ्नो घटना सार्वजनिक गरेकी हुन्।

वासिङ्टन पोस्टको ‘म यौन उत्पीडित भएको थिएँ, किन उक्त घटनाका सबै कुरा म सम्झन सक्दिनँ ?’ शीर्षकको वैचारिक टिप्पणीमा प्रकाशित उक्त लेखमा डेविसले आफू उत्पीडित भएको विषयमा खुलासा गरेकी हुन्। ४० वर्षअगाडि सन् १९७५ मा इगल्सले निकालेको एल्बम ‘वन अफ दिज नाइट्स’ मा राखिएको एउटा गीत लेखेपछि एक चर्चित संगीतका हस्तीबाट उनी बलात्कृत भएको धेरैले चर्चा गरेका थिए।

गीत लेखन करियर शुरू गर्न उत्सुक डेविसले भनेकी छिन्– ‘ती संगीतज्ञसँग उनको कार्यालयमा उनले भेटेकी थिइन्। उनलाई दिएको भेट्ने समय ‘कार्यदिनको अन्त्यतिर शंकास्पद योजना’ अनुसार राखिएको थियो।’ उक्त घटनाले ल्याउने बढ्दो असहजताले गर्दा डेविसले उसँग भेट्नुको विषय पनि सम्झन सकेकी छैनन्।
‘त्यसपछि जे भयो विश्वास गर्न गाह«ो छ’, डेविसले लेखेकी छिन्– ‘उनी ममाथि जाइलागे। उनका हात शरीरको तलमाथि सबैतिर सल्बलाउन थाले। उनले मलाई छालको खोल भएको काउचमा लडाए, उनले कन्डम पनि प्रयोग गरेका थिएनन्।’

त्यस घटनाबाट आफू अहिलेसम्म पनि बाहिर आउन नसकेको उनले उल्लेख गरेकी छिन्। तर आफूले त्यो कुन महिना थियो भन्ने पनि सम्झन नसकेको उनले लेखेकी छिन्। उनको कार्यालय छोड्दा हामीले एकअर्कालाई केही भन्यौं वा भनेनौं भन्ने पनि अहिले आफ्नो स्मरणमा नभएको उनले लेखमा उल्लेख गरेकी छिन्।
डेविसले आफ्ना भावी पति मात्र होइन, कसैलाई यो कुरा भनेकी छैनिन्। उनले सन् १९८४ मा योगा गुरु पल ग्रिलेसँग विवाह गरेकी थिइन्।

क्रिस्टिन ब्लेसे फोर्डले सर्वोच्च अदालतका लागि नामांकित ब्रेट एम क्याबेनागमाथि लगाएको आरोपका सम्बन्धमा ३० वर्षभन्दा लामो समयसम्म उक्त उत्पीडनका विषयमा कुरा नगर्नुमा आफूलाई कुनै आश्चर्य नलागेको डेविसले बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्