तरकारीको अर्गानिक पकेट क्षेत्र बनाउन कस्सिए किसान



नरेन्द्र केसी, दाङ ।
केहीबेरअघि घरकै एक जना तरकारीमा बिषादि छरेर फर्केको हुन्छ, केहीबेरपछि अर्को व्यक्ति गएर तरकारी टिपेर ल्याउँछ । बिषादिको झोल पखाल्दै तरकारी काटिन्छ र खाइन्छ । घरमै खाने तरकारीको यो अवस्था छ भने बजारमा बिक्रीमा लैजाने तरकारीको कुरा गरि साध्यै हुँदैन ।

यो समस्याबाट लामो समयदेखि आजीतभएका दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १ र २ स्थित रामपुर बुका गाउँका किसानको अहिले भने सोंच फेरिएको छ । जीविका धान्ने आधार तरकारी खेती हो तर अत्यधिक बिषादि प्रयोगले मानव स्वास्थ्य खतरामा पर्न थालेपछि यहाँका किसानहरु अर्गानिक खेतीमा जुट्न थालेका छन् । ‘हामीले लामो समयदेखि तरकारी खेती गर्दै आएका छौं, तरकारीमा अत्यधिक बिषादि प्रयोग गर्न थालेपछि हामी किसानले नै अस्वस्थ भएको महसुस गर्न थाल्यौं’– स्थानीय कमल पोख्रेलले भन्नुभयो– ‘लगातारको बिषादि प्रयोगले किसान अस्वस्थ हुन थालेका छन् भने माटो पनि बिग्रदै गएको छ, अझ उपभोक्ताको अवस्था के होला ?’

। अब किसानहरु जोखिम मोलेरै भए पनि अर्गानिक खेतीको तयारीमा जुटेको स्थानीय अगुवा मेगराज खड्काले बताउनुभयो । चरिंगे ताल संरक्षण समितिका अध्यक्षसमेत रहेका खड्काले अर्गानिक तरकारी खेती कार्यक्रमले स्थानीय किसान उत्साहित भएको जनाउँदै अब सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । ‘उत्पादन कम हुने र बजार नहुने हो कि भन्ने चिन्ता देखिन्छ’– उहाँले भन्नुभयो– ‘तर, पनि किसानले आँटिसकेका छन् ।’

स्थानीय आँट र उत्साहबाट स्थानीय सरकार पनि उत्साहित बनेको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रसायनिक बिषादिले किसान र उपभोक्ता दुबैलाई हानी गर्ने भएकाले अब अर्गानिक खेती गर्नु समयको माग भएको बताउनुभयो । सिंगो देश स्वस्थ भए मात्र समृद्धिको सपना साकार हुने भन्दै उहाँले अब विकास कसका लागि भन्ने महत्वपूर्ण सवाल भएको बताउनुभयो । यो कार्यक्रममा उपमहानगर पनि साझेदारी गर्न तयार रहेको जनाउँदै उहाँले बजार प्रबर्धनमा सहयोग गर्ने प्रतिबद्धता प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसो त विज्ञहरु पनि अर्गानिक खेतीको राम्रो संभावना रहेको बताउँछन । माटो विज्ञ दिगम्बर यादवले रसायिनक बिषादिको ठाउँमा जैबिक बिषादि प्रयोग गर्दा उत्पादनमा कमी नआउने बताउनुहुन्छ । ‘दुबै बिषादिको काम किरा मार्ने हो, रसायनिक जति जैबिक बिषादिले पनि काम गर्छ’– यहाँले भन्नुभयो– ‘रसायनिक बिषादिले माटो, पर्यावरण र मानव स्वास्थ्यलाई बिगार्छ भने जैबिक बिषादिले यसमा कुनै समस्या आउँदैन ।’

गैसरकारी संस्था पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालको अगुवाइ तथा स्थानीय समुदायको सक्रियतामा किसानहरु अर्गानिक पकेट क्षेत्र निर्माणमा जुटेका छन् । यूएनडीपीको जैबिक विविधता संरक्षण एवं नमूना अर्गानिक कृषि कार्यक्रमअन्तर्गत पकेट क्षेत्र स्थापना प्रक्रिया अघि बढाइएको छ । अध्यक्ष रावतले बिषादि धेरै प्रयोग गर्दा तरकारी खानै नसक्ने अवस्था आएकाले यो अभियान शुरु गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्