एनी र अश्लेषा क्वार्टरफाइनलमा



ललितपुर, (नेस)
वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत एनी माथेमा र अश्लेषा लिसानोभिच क्वार्टरफाइनमाल पुगेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार भएको दोस्रो चरणको खेल जित्दै एनी र अश्लेषा अन्तिम आठमा प्रवेश गरेका हुन् । पहिलो दिन महिला सिंगल्सतर्फको खेलमा एनीले पहिलो सेट गुमाएर पनि जित हात पारेकी थिइन् । उनले आफनी प्रतिद्वन्द्वी भगवती विकलाई १–६, ६–४, ७–६ को तीन सेटमा संघर्ष गर्दै पन्छाएकी थिइन् । यस्तै लामो समयपछि टेनिसमा फर्केकी अश्लेषाले इन्द्रकला श्रेष्ठलाई ६–०, ६–१ को सोझो सेटमा सहजै पन्छाइन् । उनले सो खेलमा एक गेम मात्र गुमाएकी थिइन् ।

यसैगरी पुरुष एकलतर्फ सम्यकभूषण वज्राचार्यले नीक रासट्रपलाई ६–१, ६–० को नतिजा सुम्पदै पराजय बेहोरेका थिए । नीक यो जितसँगै दोस्रो चरणमा पुगेका छन् । यस्तै आइभानहोइ लिसानोभिचले मुकिन थापालाई ६–०, ६–१ ले पराजित गरे । अर्को खेलमा विषमजंग गुरुङले इभाक जोशीलाई ६–४, ६–४ ले पराजित गरेका थिए ।

प्रतियोगिताअन्तर्गत पुरुष डबल्सतर्फ सुब्रत बस्नेत र मुक्ति सेन गुरुङको जोडीले गोविन्द कसुला र गौरीशंकर श्रेष्ठको जोडीलाई ६–१, ६–० ले हरायो । त्यस्तै मनोज राणा र महेश श्रेष्ठको जोडीले इभाक जोशी र निशान श्रेष्ठको जोडीलाई ६–० र ६–२ ले हरायो । रोहित सुनवार र राजु श्रेष्ठको जोडीले इन्द्रबहादुर शाह र शिवराम मगरलाई ६–१, ६–३ ले पराजित गरेको थियो । यसैगरी इभानहोइ र सम्यक भूषणको जोडीले अन्जन सिंह र राजकुमार लामाको जोडीलाई पराजित गरेको थियो । यी विजेता जोडी अन्तिम आठमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्