महिला संघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने



हेटौंडा ।
नेपाली कांग्रेसनिकट नेपाल महिला संघले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण सुरुदेखि नै विवादास्पद हुनु, राज्य संयन्त्रबाट अनुसन्धानमा गम्भीर त्रुटि र उदासिनता देखाउनुका साथै सरकारबाट संविधान पालनामा गम्भीर त्रुटि र प्रेसमाथि भइरहेको नियन्त्रण, मूल्यवृद्धिलगायत विषयमा ज्ञापनपत्र बुझाउन लागिएको हेटौंडामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ ।

विरोधमा नेपाल महिला संघको अगुवाइमा आइतबार मकवानपुर जिल्लासहित देशभर विरोध ¥याली निकालेर जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई विरोधको ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा बताइयो ।

पार्टी जिल्ला सचिव बुद्ध लामाको सभाध्यक्षतामा गरिएको सम्मेलनमा नेपाल महिला संघ जिल्ला सभापति लक्ष्मी श्रेष्ठ, पार्टी कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सचिव आनन्द कठायत, प्रवक्ता प्रदीप कोइराला, महिला संघका पदाधिकारीको सहभागिता थियो ।

पत्रकार सम्मेलनमा हेटौंडामा भएको ओमबाबा काण्डको विषयमा प्रवक्ता कोइरालाले आवश्यक अनुसन्धान गरी अपराध गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो । ओमबाबाको आश्रममा हेटौंडा–११ की साबित्री पुडासैनीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्