चेल्सीको कठिन जित



लन्डन, (एजेन्सी)
यूरोपको दोस्रो प्रतिष्ठित फुटबल प्रतियोगिता युरोपा लिगअन्तर्गत समूह ‘एल’ मा रहेको इंग्लिस क्लब चेल्सीले कठिन जित दर्ता गरेको छ।

विहिबार राति भएको खेलमा चेल्सीले ग्रिसको पाओके एफसीमाथि १–० को कठिन जित निकालेको हो। खेलमा पहिलो हाफको सातौं मिनेटमा विलियनले गरेको गोल नै चेल्सीका लागि निर्णायक सावित भयो। जितसंगै समूहको पहिलो खेलबाट बाते बोरिसोभसँगै समान तीन अंक बटुले पनि गोल भिन्नताको आधारमा चेल्सी दोस्रो स्थानमा छ। यसै समूहको अर्को खेलमा बाते बोरिसोभले पनि एमओएल भिडीलाई २–० ले पराजित गरेको थियो।

प्रतियोगिता अन्तर्गत समूह ‘जे’ को खेलमा स्पेनिस टोली सेभियाले बेल्जियन क्लब स्टान्डर्ड लिएजलाई ५–१ ले पराजित गर्यो। यसै समूहको अर्को खेलमा भने एफसी क्रान्जोडारले अखिसार्स्पोरलाई १–० ले हराएको थियो।

सेभियाले खेलको आठौँ मिनेटमा एभर बनेगाको गोलमा अग्रता लिएको थियो। यता ३९ औं मिएँत्मा मौस जेनेपोले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको २ मिनेटमै फ्रान्को भाज्क्वेजले गोल गर्दै खेलमा सेभियालाई अग्रता दिलाए। पहिलो हाफमा अन्य अवसर सिर्जना गरे पनि सेभियाको प्रयासमा विपक्षी गोलरक्षकले राम्रो प्रदर्शन गर्दै बचाउ गरेका थिए।
दोस्रो हाफमा विसाम बेन एडरले सेभियाका लागि थप गोल गरे। उनले ४९ औं र ७० औं मिनेटमा गोल गर्दै टोलीको अग्रता फराकिलो पारे। कप्तान एभर बेनेगाले ७४ औं मिनेटमा सेभियाकातर्फबाट पाँचौ गोल गर्दै खेल आफ्नो पक्षमा पारे। जितसँगै सेभिया यस समूहको शीर्ष स्थानमा उक्लेको छ। अर्को खेलमा क्रान्जोडारका भिक्टर क्लासेनले २६ औं मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरेका थिए।

त्यस्तै समूह एच को खेलमा लाजियोले एपोलोनलाई २–१ ले हराउँदा जर्मनीको फ्रान्कफर्टले पनि फ्रान्सको मार्सेलेलाई २–१ गोल अन्तरले पराजित गरेको छ। अन्य खेलमा बेसिक्टासले साप्र्सबोर्गलाई ३–१ ले, जेन्कले माल्मोलाई २–० ले, रेपिड भिएनाले स्पार्टक मस्कोलाई २–० ले, रेनेसले र जाब्लोनेकलाई २–१ ले हराउँदै आ–आफ्नो समूहमा तीन अंक बटुलेका छन्। यसैगरी डिनामो कीभ र एफसी अस्तानाले तथा भिया रियल र रेन्जर्सले समान २–२ गोलको बराबरी खेल्दै एक–एक अंक बाँडेका छन्।

प्रतिक्रिया दिनुहोस्