अमेरिकालाई प्रतिबन्ध हटाएर गल्ती सुधार्न चीनको चेतावनी



वासिङटन/ बेइजिङ (एजेन्सी)
चीनको विदेश मन्त्रालयलले शुक्रबार अमेरिका समक्ष चिनियाँ सेनामाथि लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ। ट्रम्प प्रशासनले चीनमाथि रुसका युद्धक विमान खरिद गर्न प्रतिबन्ध लगाएको थियो। चिनियाँ विदेश मन्त्रीका प्रवक्ता गेंग सुआंगले पत्रकारसँगको कुराकानीमा अमेरिकाको तर्फबाट भएको गैरजिम्मेवारी गतिविधिका लागि चीनले ससक्त रुपमा असन्तुष्टी राख्ने बताए।

चीनले अमेरिका समक्ष आधिकारिक रुपमा आफनो विरोध पेश गरेको गेंगले बताए। अमेरिकाले अन्तराष्ट्रिय सम्बन्धको सिद्धान्तको गम्भिर रुपमा उलंघन गरेको उनले बताए। ‘यसले दुबै देश र उनहिरूका सेना बीचको सम्बन्ध खराब भएको छ। हामी अमेरिकासँग आफनो तथाकथित प्रतिबन्ध फिर्ता लिन र तत्काल प्रभावमा आउने गरी गल्ती सुधार गर्न माग गर्छौं। अन्यथा उसले यसको परिणाम भोग्नु पर्नेछ।

अमेरिकाले भने चीनको सेनाले अमेरिकाद्वारा रुस माथि लगाइएको प्रतिबन्धको उलंघन गरेको आरोप लगाएको छ। अमेरिकी चुनावमा हस्तक्षेप गरेकोमा रुसमाथि उक्त प्रतिबन्ध लगाएको थियो।

अमेरिकाका विदेश मन्त्रालयले चीनको इक्विपमेन्ट डेभेलपमेन्ट डिपार्टमेन्ट (ईडीडी)माथि तत्काल प्रतिबन्ध लगाउने जनाएको थियो। ईडीडी चीनले हतियार खरिद तथा विक्री गर्ने संस्था हो।

उक्त प्रतिबन्ध चीनद्वारा रुसबाट एसयु–३६ युद्धक विमान र एस–४०० हवाई क्षेप्यास्त्रसँग सम्बन्धित उपकरण खरिद गरेकोमा लगाइएको विदेश मन्त्रालयले जनाएको छ। अमेरिकाले इडीडी र त्यसको प्रमुख ली सांग्फुमाथि निर्यात अनुमतिका लागि दरखास्त हाल्न पनि प्रतिबन्ध लगाएको छ।सन् २०१७मा चीनले १० सुखोइ–३५ लडाकु विमान र २०१८ मा एस४०० जमिनबाट आकासमा प्रहार गर्ने क्षेप्यास्त्र खरिद गरेको थियो। उक्त खरिदकै कारण अमेरिकाले चिनियाँ सेना माथि प्रतिबन्ध लगाएको हो। उक्त प्रतिबन्धपछि चीनका एजेन्सी अमेरिकाको अधिकार क्षेत्रमा निर्यात लाइसेन्सका लागि आवेदन गर्न नपाउने भएको छ।

अमेरिकाले सन् २०१७ मा एक कानुन पारित गरेको थियो। उक्त कानुन अन्तर्गत नै इरान, उत्तर कोरिया र रुसमाथि प्रतिबन्ध लगाइएको थियो। उक्त कानुनमा रुसबाट रक्षा उपकरण खरिद गर्न प्रतिबन्ध लगाइएको थियो। उक्त कानुन अन्तर्गत रहेरै ट्रम्प प्रशासनले रुसको सैन्य तथा इन्टेलिजेन्ससँग सम्बन्धित ३३ ब्यक्ती तथा कम्पनीलाई कालो सुचीमा राखेको थियो। उसँग कुनै प्रकारको कारोबार गर्नेहरूमाथि अमेरिकाले कानुनी प्रावधानमा रहेर कारवाही गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्