युवा स्वरोजगार कोषलाई प्रभावकारी र व्यवस्थित बनाउनुपर्छ



काठमाडौँ ।
युवालाई आत्मनिर्भर बनाउन स्थापना गरिएको युवा स्वरोजगार कोषलाई थप प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा ऋण प्रवाह गर्दै आएका कोषको कार्यालय काठमाडौँबाहेक अन्य क्षेत्रमा नहुँदा सेवा प्रवाहमा समस्या देखिएको हो ।

“काठमाडौँमा मात्र कोषको कार्यालय हुँदा सहजरुपमा सेवा प्रवाह गर्न तथा कोषले दिएको ऋणको उच्च सदुपयोग भएको छ वा छैन भन्ने सम्बन्धमा अनुगमन गर्न कठिनाई भएको छ”, कोषका उपाध्यक्ष डा प्रेमप्रसाद दङ्गालले भन्नुभयो, “ सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउनका लागि कोषले प्रदेशस्तरमा कार्यालय सञ्चालन गर्ने योजना बनाएको छ ।”

“कोषको प्रदेशस्तरीय कार्यालय सञ्चालन गर्ने योजना भएपनि सरकारले यसतर्फ चासो देखाएको छैन”, दङ्गालले भन्नुभयो ।

प्रभावकारी अनुगमनको अभावमा कोषले उपलब्ध गराएको बिना धितो कर्जा पनि डुब्न सक्ने सम्भावना प्रवल देखिएको उहाँले भन्नुभयो । विभिन्न समस्याका बाबजुत पनि कोषले स्वदेशभित्र रोजगारीको अवसर प्रदान गर्ने महत्वपूर्ण आधार बनेको उल्लेख गर्दै उहाँले लोकतन्त्रको पुनःस्थापनापछि २०६५ सालमा गठन भएको कोषले देशभरका सहकारी तथा वित्तीय संस्थालाई ऋण उपलब्ध गराउँदै आएको छ ।

कोषले ७५ वटा जिल्लामा कुल एक हजार ४५२ सहकारी तथा २४ वटा वित्तीय संस्थामा ऋण लगानी गरेको छ । जसअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा मात्र २५० युवा स्वरोजगार बनेका कोषका काभ्रे सचिव कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो । “कोषअन्तर्गत जिल्लाका २३ वटा सहकारीमा लगानी गरेका छौँ”, उहाँले भन्नुभयो, “अझै पनि ऋण भनेपछि डराउने प्रवृत्तिले सोचेजस्तो ऋण प्रवाह हुन सकेको छैन ।”

तामाङ समुदायको बाहुल्यता रहेको सिन्धुपाल्चोक जिल्लामा कोषले हालसम्म एक हजारभन्दा बढीलाई विभिन्न तालीम प्रदान गरी स्वरोजगार बन्नमा सहयोग गरेको छ । तालीम प्राप्त गर्नेहरुमध्ये जिल्लामा ३५० जना युवाले ऋण प्राप्त गरी कृषि, पशुपालन, व्यापारलगायतका क्षेत्रमा लगानी गरेको सचिव पराजुलीको भनाइ छ ।

“कोषअन्तर्गत ऋण लिएर आफ्नै क्षेत्रमा व्यवसाय सञ्चालन गर्न थालेपछि वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या घट्दै आएको छ”, उहाँले भन्नुभयो । भौगोलिक रुपमा जिल्ला निकै नै विकट भएकाले यसमा सबै बेरोजगार युवालाई समेट्न कठिन रहेको पनि उहाँले बताउनुभयो ।

हालसम्म कोषले मुलुकभर १७ हजार १०७ महिला तथा २१ हजार १८७ पुरुष गरी कूल ५५ हजार ३३३ युवालाई स्वरोजगार बनिसकेको कोषले जनाएको छ । त्यस्तै हालसम्म ६१ हजार २४३ युवाले कोषबाट विभिन्न तालीम लिइसकेको बताइएको छ ।

आव २०७३÷०७४ सम्ममा कुल ३८ हजार २९४ युवा स्वरोजगार बनेका थिए भने आव २०७४÷०७५ मा थप १७ हजार ३९ युवा स्वरोजगार भएका छन् । १८ वर्ष उमेर नाघेका नेपाली नागरिकता प्राप्त युवालाई तालीम दिइ स्वरोजगार बनाउँदै आएको पनि कोषले जनाएको छ । हालसम्म सबैभन्दा बढी झापा र सबैभन्दा कम कर्णालीमाका युवालाई ऋण उपलब्ध गराएको कोषले जनाएको छ ।

कोष स्थापनाका लागि सरकारले कुल रु तीन अर्ब ९० करोड लगानी गरेको थियो । अहिले कोषमा रु छ अर्ब रुपैयाँ पुगिसकेको छ । कोषले नेपाली युवालाई चार प्रतिशत ब्याजमा र सहकारी तथा वित्तीय संस्थालाई पाँच प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउँदै आएको छ । कोषबाट ऋण लिएको सहकारीले दश प्रतिशतभन्दा बढी ब्याजमा युवालाई ऋण उपलब्ध गराउन नहुने नियम कोषको छ ।

सहकारीका कर्मचारीको आफन्त कसैलाई पनि ऋण दिन नहुने नियम रहेको कोषका सहायक सूचना अधिकारी देवराज ज्ञवालीले जानकारी दिनुभयो ।

रासस

प्रतिक्रिया दिनुहोस्