५० जना विद्यार्थीका लागि ६० जना प्राध्यापक



सरोज यादव, विराटनगर ।
विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा क्याम्पस प्रमुखको नियुक्तीको बिषय लिएर विवाद भएको छ । नियमविपरीत अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै प्राध्यापक सम्बद्ध संघसंगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चिकालिन तालाबन्दी गरेका छन ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसकोरुपमा रहेको विराटनगर–१४ स्थित स्नात्तकोत्तर क्याम्पसको क्याम्पस प्रमुखको कोठामा प्राध्यापक सम्बद्ध संघसंस्थाका पदाधिकारीहरुले तालाबन्दी गरेका हुन । महेन्द्र मोरङ क्याम्पसमा अध्यापनरत प्राध्यापक महेश खत्रीलाई नियम विपरीत त्रिवीले क्याम्पस प्रमुखमा नियुक्ती गरेको बिरोधमा तालाबन्दी गरिएको त्रिवि प्राध्यापक संघ स्नातकोत्तर क्याम्पस इकाइले जनाएको छ ।

बरिष्ठताको आधारमा क्याम्पस भित्रकै प्राध्यापकहरु मध्येबाट क्याम्पस प्रमुख नियुक्ती गर्नुपर्ने नियम रहेपनि राजनितिक भागबण्डाका कारण अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्त गरिएको उनिहरुको भनाई छ । क्याम्पस बाहिरकालाई क्याम्पस प्रमुख बनाउदा क्याम्पसप्रतिको उत्तरदायित्व र लगाव नरहने तथा बरिष्ठताका आधारमा क्याम्पस प्रमुख बन्न पाउनुपर्ने प्रजातन्त्रबादी प्राध्यापक संघ स्नातकोत्तर क्याम्पस विराटनगरका अध्यक्ष प्राडा अनिलकुमार पोखरेलले बताए ।

चरम राजनितिका कारण क्याम्पसको पठनपाठन प्रभावित हुनुका कारण पछिल्लो समय विद्यार्थीको संख्यापनि अत्यन्तै घटेको प्राध्यापकहरुले जानकारी दिएका छन । २०६४ सालमा सो क्याम्पसमा २ हजार विद्यार्थी अध्ययनरत रहेकोमा हाल ५० जना विद्यार्थीमात्र अध्यनरत रहेको जनाइएको छ । हाल ५० जनामात्र विद्यार्थी अध्ययनरत रहेको सो क्याम्पसमा ६० जना प्राध्यापकहरु कार्यरत रहेका छन । नियोजितरुपमा क्याम्पस विघटन गराउन लागि परेको समूहले लामो समयदेखि नियम विपरीतका विभिन्न गतिविधि गर्दै आएको प्राध्यापकहरुको आरोप छ । कार्यकक्षमैं तालाबन्दी गरिएपछि भदौ २६ गते त्रिविबाट नियुक्ती लिएर २७ गते पदभार ग्रहण गर्न आइपुग्नुभएका नवनियुक्त क्याम्पस प्रमुख खत्री भने कार्यकक्ष बाहिरै बसेर कार्यसम्पादन गर्दै आइरहेका छन ।

प्रतिक्रिया दिनुहोस्