राष्ट्रिय सिंचाई जलउपभोक्ता महासंघको चौथो राष्ट्रिय परिषद् सुरु



पुष्कर बुढाथोकी, भक्तपुर ।
राष्ट्रिय सिंचाई जलउपभोक्ता महासंघको चौथो राष्ट्रिय भेला बिहीबारबाट काठमाडौंमा सुरु भएको छ ।‘देशभरीका सिंचाई जलउपभोक्ता संस्थाको एउटै विचार ,पानीमाथि स्थानीय समुदायको अधिकार ’भन्ने नारा सहित सुरु भएको चौथो राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेलले नेपालमा बिद्यमान गुजारमुखी अर्थतन्त्रको चक्करलाई तोड्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष कँडेलले उत्पादन गर्ने किसानलाई बजार सँग जोड्न नसक्दा नेपालको समग्र आर्थिक क्षेत्रको विकास हुन नसकेको बताउँदै उहाँले दिगो बिकास लक्ष प्राप्त गर्न कृषि क्षेत्रबाट राष्ट्रिय क्षेत्रमा पुग्दै आएको योगदानलाई बढाउनुपर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो,‘देश कृषि प्रधान हो,यहाँका ६० प्रतिशत जनता आहिले पनि कृषि क्षेत्रमा संलग्न छन्,तर बिडम्बना यसले राष्ट्रिय क्षेत्रमा दिने योगदान २५ प्रतिशत मात्र छ ,बिडम्बना यही हो,यसलाई बढाउनै पर्छ ।’

जुन हिसाबले नेपालले बिकासको गति पक्रनुपर्ने हो ,त्यो नसकेको बताउँदै उहाँले कृषिको कुल ग्राहस्थ उत्पादन बढाउने मात्र होईन उद्योग ब्यबसाय लगायत अरु क्षेत्रको उत्पादन झन् बढाउनुपर्छ भन्नुभयो ।समृद्ध नेपाल,सुखी नेपाली भन्ने सरकारी अभियानको मुल सुचक नै कृषि भएको बताउँदै उपाध्यक्ष कँडेलले यसको लागि कृषि क्षेत्रको तीब्र बिकास जरुरी रहेको औंल्याउनुभयो ।

सन् २०३० सम्म दिगो विकास लक्ष प्राप्त गर्न देशमा कोही नागरिक पनि भोको हुन नहुने र सबैले पर्याप्त,पोषणयुुक्त र सुरक्षित खाद्यान्न पाउनुपर्ने लक्षको पुर्ति पनि कृषि क्षेत्रको विकास बिना संभव नहुने बताउनुभयो । महासंघले सिंचाई जलका क्षेत्रमा सरकारले गर्ने काम कारवाहीलाई निगरानी र सहयोग दुबै गर्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा सांसद उमा रेग्मीले सिंहदरकारको अधिकार गाउँगाउँमा भनिए पनि अझै पनि उपभोक्तालाई सशक्त पार्न नसकिएको बताउँदै यस्तै अबस्था कायम रहे समृद्ध नेपाल निर्माणको लक्ष पुरा नहुने बताउनुभयो ।उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिब संजय शर्माले कृषि क्षेत्रलाई आकर्षित क्षेत्रको रुपमा बिकास गर्नुपर्नेमा जोड दिंदै यसका लागि सिंचाई प्रणालीको दिगोपन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा सिंचाई बिभागका उपमहानिर्देशक बासुदेव लोहनीले महासंघले सरकारसँग मिलेर किसान र सिंचाई उपभोक्ताको हितमा कार्य गर्नुपर्ने बताउनुभयो ।यूएसएड अन्तर्गत पानी परियोजनाका प्रमुख निलु बस्नेतले सिंचाई प्रणालीको दिगोपनका लागि यूएसएडले राष्ट्रिय सिंचाई जलउपभोक्ता महासंघसँग मिलेर सहकार्य गर्दै आएको र सहकार्य जारी रहने बताउनुभयो । कार्यक्रममा महासंघका अध्यक्ष गजाधर यादवले संसदको बिधान समितिमा पेश भएकएको प्रस्तावित सिंचाई ऐनमा किसानका महत्वपुर्ण कुरा छुटेको बताउँदै सिंचाईका नहरलाई निजीकरण नगरी स्थानीय समुदायले ब्यबस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

महासंघका महासचिब शम्भुप्रसाद दुलालले सिंचाई जलस्रोत बिभागबाट हुने संस्थागत बिकास कार्यक्रम महासंघबाट संचालन गराउने ब्यबस्थापन मिलाउन माग गर्नुभयो ।कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्याल,महासंघका सल्लाहकार रत्नेश्वरलाल कर्ण ,पद्मप्रसाद अर्याल लगायतले महासंघले समुदायको सहभागितामा आय आर्जनमुलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

भेलामा ७ वटै प्रदेश समितिका अध्यक्ष ,७७ वटै जिल्ला अध्यक्ष ,महासंघक पुर्व अध्यक्ष ,सल्लाहकार सहित एक सय ५० भन्दा बढी यस क्षेत्रका सरोकारवालाको घनिभुत सहभागिता रहेको छ ।देशभरीका कृषि र सिंचाईसँग सम्बन्धित आम उपभोक्तालाई संगठित गर्न र जलस्रोतको दिगो ब्यबस्थापन र लाभदायी उपयोगका लागि २०५५ साल कार्तिक २६ गते महासंघको स्थापना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्