संविधानको विरोध गर्दै मन्त्री नै सडकमा



कृष्णउदास खनाल, वीरगन्ज
केन्द्र सरकारले काठमाडौंमा धुमधामका साथ संविधान दिवस मनाइरहँदा प्रदेश २ को सत्तारूढ दल राष्ट्रिय जनता पार्टीका मन्त्रीहरू नै सडकमा उत्रिएर संविधानको विरोध गरेर आफ्नो असली चरित्र देखाएका छन्। दुई नम्बर प्रदेशको आर्थिक राजधानी वीरगन्जसहित विभिन्न शहरमा उनीहरूले कालो झण्डा लिएर संविधानको विरोध गरेका हुन्।

प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह र भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल विरोध प्रदर्शनमा सहभागी भएका थिए।

संविधानसभाबाट जारी भएको संविधान त्रुटीपूर्ण भएको भन्दै आन्दोलनमा उत्रिएको राजपाले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई भने समर्थन गर्दै आएको छ। प्रदेशका मन्त्रीहरू नै सडकमा उत्रिएर संविधानको विरोध गर्न थालेपछि सुरक्षा निकाय भने अन्योलमा परेको छ।

संविधानमा धेरै कुरा समावेश नभएका कारण आफूहरूले विरोध गरेको भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले संविधान संशोधन नभएसम्म संविधानको विरोध जारी रहने बताउनुभयो। संविधानको विरोध गरेको संघीय फोरमले भने कुनै विरोधका कार्यक्रम गरेन।

उसका नेता कार्यकर्ताहरू भने कोही पनि संविधानको विरोधमा देखिएनन्। सांसदसमेत रहेका फोरम पर्साका अध्यक्ष प्रदीप यादवले संविधान संशोधन गर्न आफूहरू सरकारमा गएका कारण अहिले संविधानको विरोध आवश्यक नभएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्