जापानमा पनि भयो अवार्ड



राजबिन थापा, टोकियो, जापान
जापानमा पहिलोपटक सूर्य इन्टरनेसनल अवार्ड २०१८ सम्पन्न भएको छ। टोकियोस्थित नाकानो जिरो हलमा आइतबार सम्पन्न समारोहमा म यस्तो गीत गाउँछु उत्कृष्ट फिल्म तथा नायक पल शाह र नायिका पँजा शर्मा उत्कृष्ट नायक नायिका भएका छन्। अनलाइन भोटका आधारमा दिइएको अवार्डमा पल र पँजा दुवै म यस्तो गीत गाउँछुबाट उत्कृष्ट भएका हुन्। सोही फिल्मबाट सुदर्शन थापाले निर्देशकको अवार्ड जिते।

समारोहमा अन्य विधामा प्रशान्त ताम्राकार सहअभिनेता र वर्षा राउत सहअभिनेत्री घोषित भए। त्यसै गरी लोकप्रियताका आधारमा ४ विधामा अवार्ड प्रदान गरियो। गत वर्ष प्रदर्शनमा आएका फिल्मबाट नायक, नायिका, निर्देशक र फिल्म गरी ४ विधामा अवार्ड प्रदान गरिएको हो। कार्यक्रममा अनमोल केसी उत्कृष्ट नायक, सम्राज्ञी राज्य लक्ष्मी शाह नायिका, प्रदीप भट्टराई निर्देशकको अवार्ड उचाल्न सफल भए भने छक्का पञ्जा २ उत्कृष्ट फिल्म ठहरियो। अवार्ड समारोहमा अभिनेत्री वसुन्धरा भुसाललाई लाइफ टाइम एचिभमेन्ट अवार्ड २०१८ प्रदान गरिएको छ।

यस्तै ३ दशकदेखि नेपाली फिल्म क्षेत्रमा क्रियाशील सदबहार नायक भुवन केसीलाई सँर्य कलाकरिता सम्मान २०१८ प्रदान गरिएको छ। निरन्तर चलचित्र पत्रकारितामा कलम चलाउँदै आएका समीप्यराज तिमल्सेनालाई नगद २५ हजार जापानिज येनसहित सँर्य चलचित्र पत्रकारिता २०१८ बाट पुरस्कृत गरिएको छ भने फोटो पत्रकार श्रीधर पौडेललाई नगद १५ हजार येनसहित पुरस्कृत गरिएको छ।

अवार्ड समारोहमा लोकगीततर्फ गायक रामजी खाँड र गायिका सम्झना लामिछाने मगर उत्क्रृष्ट घोषित भए भने पपतर्फ कमल खत्री र इन्दिरा जोशी, आधुनिकतर्फ राजेश पायल राई र मेलिना राई विजेता भए। अवार्डमा नेपालबाट झन्डै ४ दर्जन कलाकार सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्