मेंगकुट आँधी चीनमा पुग्यो, फिलिपिन्समा मर्नेको संख्या ४९



ग्वांगझाउ (एजेन्सी)
फिलिपिन्स र हङकङमा विध्वंश मच्चाएपछि मेंगकुट सामुद्रिक आँधी चीनको मुख्य भुमीमा प्रवेश गरेको छ । चीन प्रवेश गर्ने क्रममा आँधीको बेग १ सय ६२ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ ।

ग्वांगडुङमा सबैभन्दा तिब्र बेगको आँधीबेरी आउनेको उच्च सतर्कता जारी गरिएको छ । उक्त सामुद्रिक आँधीले हंङकङमा पनि विध्वंश मच्चाएको र त्यहाँका गगनचुम्बी तथा घरहरुको झयाल तथा ढोकालाई नोक्सान पुर्याएको छ ।

फिलिपिन्समा मर्नेको संख्या ४९ पुगेको छ, जसमा धेरैजसोको भिषण बर्षाबाट भएका भुस्खलनमा मारिएका हुन् । मेँगकुटलाई सन् २०१८ को सबैभन्दा शक्तिशाली सामुद्रिक आँधी मानिएको छ ।
चीनको सरकारी सन्चार माध्यम अनुसार मेंगकुट आँधी चीनको तट नजिक जियांगमेन सहरमा स्थानिय समय अपरान्ह पुगेको हो । हजारौं नागरिकलार्य ग्वांगडुङ तटिय इलाकाबाट सुरक्षित स्थान सारिएको र वरपर प्रभावित क्षेत्रका नागरिकका लागि प्रशासनले चेतावनी जारी गरेको छ ।

हंङकङमा पनि प्रशासनले उच्च सतर्कता जारी गरेको छ । नागरिकलाई चेतावनी हुरीले उडाइएका टुक्राटाक्रीहरुबाट बच्न र घरबाट बाहिर ननिस्कन आह्वान गरेको छ । हङकङमा १ सय ७७ किलोमिटर प्रतिघण्टाभन्दा अधिक बेगले हुरी चलेको थियो । घाइतेको संख्या १ सय ११ पुगेको बताइएको छ । शहरमा पानीको स्तर १२ फिट सम्म पुगेको र सडकमा जिउँदा माछाहरु तैरिरहेको बताइएको छ ।

धेरैजसो पसल तथा सार्वजनिक सेवा बन्द गरिएका छन् । उक्त आँधीका कारण विमान परिचालनमा पनि ब्यापक असर पुगेको छ । हङकङ अन्तराष्ट्रिय विमानस्थलले ८ सय भन्दा धेरै उडान रद्द गरेको छ । यसले १ लाख भन्दा धेरै यात्री प्रभावित भएका छन् ।

तर केही नागरिकले चेतावनीलाई त्यति गहन रुपमा लिएको छैन । हङकङका बासिन्दा होओ चेनले समाचार एजेन्सी एएफपीलाई भने– म विहानै दौडन गएको थिएँ । मलाई ताजा हावा मनपर्छ । सडकमा कोही थिएन, कुनै कार थिएन । सामान्य दिनमा हामी यसतो देख्दैनौं ।
छिमेकी मकाउ सहरमा पहिलो पटक राज्यको सबैभन्दा प्रसिद्ध क्यासिनो बन्द गर्न आदेश दिइएको थियो । मंगलबारसम्ममा मेंगकुट आँधी कमजोर हुने अनुमान गरिएको छ ।

फिलिपिन्समा उक्त आँधीबाट सबैभन्दा बढी कार्डिलेरा र न्युएवा विजकायामा भुस्खलनबाट भएको बताइएकोछ । मारिनेमा धेरैजसो बच्चा परेका छन् । बेंगेट प्रान्तमा भुस्खलनबाट १९ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले रोयटर्सलाई बताए ।

प्रतिक्रिया दिनुहोस्