जोखाना कस्तो ?



राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगम धेरै जसो थलिन्छ, कहिले चाहिँ यसो बौरिए झैं गर्छ । औषधीमूलो राम्रै भएछ क्यार केही महिनायता निगम राम्रैसँग तङ्ग्रिए झैं देखिन थाल्या छ । त्यही भएर दायाँ–बायाँ पखेटा फिजाउन खोज्दैछ ।

एसियामा मात्रै होइन यूरोपका धेरै ठाउँमा पखेटा फिजाउने उसको योजना छ । तर कंसाकार नामका पुराना धामीको जोखना राम्रो भए न कि क्या हो, वायुसेवामा अर्का धामी पनि नियुक्त भएछन् । खरेलथरका अर्का धामीले पनि एसिया र यूरोप यात्रा कस्तो हुने हो भन्दै जोखाना हेर्न थाल्या छन् रे ।

नयाँ धामी खरेल दावी गर्दै भन्छन्–‘वायुसेवालाई तन्दुरुस्त बनाउँछु, धेरैतिर पखेटा फिजाउन सक्ने बनाउँछु, खुम्चिएका, भाँचिएर थन्किएका पखेटालाई पनि पुनः जिवन दिन्छु ।’ अब हेरौ दुई झाँक्रीको जोखानाले वायु सेवा बनाउँछ कि, हावा सेवा ?

अनि नयाँ झाँक्री कम्रेड ओलीको पहलमा नियुक्त भा हुन् भन्ने बजार हल्ला छ । तर ओली चीन तर्फ उड्दा त वायु सेवा भन्दा पनि खैं कुन प्राइभेट कम्पनी रुचाउँछन् क्यार । यस्तो भएसी दुई झाँक्रीले चीनतर्फ पखेटा फिजाउन सक्ने गरी झारफुक गर्छन् कि गर्दैनन्, हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्