पाटा ट्राभल मार्ट ‘नेपाल पेभिलियन’ आकर्षण



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमसँगको सहकार्य तथा समन्वयमा पाटा नेपाल च्याप्टरले नेपाली पर्यटन व्यवसायी, विद्यार्थीसहित मलेसियाको लंकाबीमा आयोजित पाटा ट्राभल मार्टको ४१औं संस्करणमा ‘नेपाल पेभिलियन’ स्थापना गरी नेपालको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरेको छ ।
सेप्टेम्बर १२ तारिखदेखि १४ तारिखसम्म आयोजित उक्त कार्यक्रम मलेसिया सरकारद्वारा होस्ट गरिएको थियो ।


पाटा ट्राभल मार्ट २०१८ मा नेपालबाट अभिवादन एक्सपिडिसान होलिडेज, कम्युनिटी होमस्टे नेटवर्क, द यात्रा कोर्टयार्ड, गोइङ नेपाल, कैलाश ग्रुप नेपाल, हिमालयन होलिडेज टे«किङ एन्ड टुर्स, लाङटाङ रि ट्रेकिङ एन्ड एक्सपिडिसन, सांग्रिला होटेल एन्ड रिसोर्ट, नेपाल होलिडे मेकर्स टुर्स एन्ड ट्राभल्स र अप एभरेष्ट ट्राभल्स एन्ड टुर्स गरी १० वटा निजी कम्पनीले भाग लिएका थिए ।

विश्वभरीका ७० गन्तव्यबाट १ हजार ४ सयले सहभागिता जनाएको ट्राभल मार्टमा २०८ वटा संघसंस्था तथा ३३ वटा गन्तव्यबाट ३२ प्रतिशत स्थानीय गरी कुल ३८९ बिक्रेता सहभागी र २४१ वटा संस्था तथा ५३ स्रोत बजारबाट २५२ क्रेताबीच व्यापार आदानप्रदान तथा गन्तव्य प्रवद्र्धन गरिएको थियो ।

पाटाले नेपाल, बंगलादेश, सिंगापुर, क्यानडा, फिलिपिन्स तथा मलेसियाबाट २१० जना युवा पर्यटन प्रोफेसनललाई पनि पाटा युथ सिम्पोजियमका लागि लंकावीमा आमन्त्रण गरेको थियो । नेपालबाट पाटा नेपाल स्टुडेन्ट च्याप्टरलाई प्रतिनिधित्व गर्दै मिड भ्याली इन्टरनेशनल कलेजमा अध्यनरत तमन्ना प्रधान र आइएसटी कलेजका जिग्मे लामाले पाटा नेपाल च्याप्टरको प्रायोजनमा सहभागी हुने अवसर पाएका थिए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पाटा ट्राभल मार्ट नेपालको विविधता संसारका सामु देखाउने अनुपम अवसर भएको बताउनुभयो । सेप्टेम्बर १५ मा भएको पाटा अन्तराष्ट्रिय गन्तव्य समितिको बैठकलाई अध्यक्षता पनि जोशीले गर्नुभएको थियो । उक्त बैठकमा मास्टर कार्ड तथा गुगलको प्रस्तुति पनि भएको थियो । यो बैठकले नेपाललाई डिजिटल आबद्ध बनाउन सहयोगी हुने विश्वास जोशीले व्यक्त गर्नुभयो ।

उक्त अवसरमा पाटा नेपाल च्याप्टरले पाटा नेक्स्ट जेन एन्गेजमेन्ट अवार्ड प्रदान गरियो । उक्त अवार्ड गरेको थियो । यो अवार्ड पाटाले प्रत्येक बर्ष विश्वभरी रहेका आफ्ना च्याप्टरले युवा पुस्तासंँगको संलग्नता तथा सहकार्यमा पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रदान गरेको योगदानको मँल्याङ्कनका आधारमा प्रदान गर्ने गर्दछ ।

पाटा नेपाल च्याप्टरका सीईओ सुरेशसिंह बुडालले पाटा नेपाल च्याप्टरले बेष्ट च्याप्टर अवार्ड पाउनु नेपाली पर्यटन क्षेत्रका लागि गर्वको विषय भएको बताउँदै पाटा नेपालले दिगो पर्यटन विकासका लागि आवश्यक जिम्मेवारी अनुरुप युवापुस्तासँगको आबद्धतालाई प्राथमिकतामा राख्दै वर्ष २०१७मा संस्थाले गरेका कार्य तथा भावी योजनाका बारेमा पाटा च्याप्टर कोलोकियममा प्रस्तुत गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्