४ सय ७० किलोग्राम यार्सागुम्बा निकासी



दार्चुला, (नेस)
दार्चुलाबाट यस वर्षको हाल सम्ममा ४ सय ७० किलोग्राम यार्सागुम्बा बाहिरी जिल्लाहरुमा निकासी भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट ४ सय ७० किलोग्राम यार्सागुम्बा निकासी पुर्जी दिइएकोमा सोही मात्रामा निकासी भएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका निमित्त प्रमुख पशुपति अधिकारीले जानकारी दिए ।

प्रति निकासी पुर्जीको २५ हजारका दरले १ करोड १७ लाख ५० हजार रुपैया राजस्व सङ्कलन भएको उनले जानकारी दिए । दार्चुलाको यार्सागुम्बा छिमेकी राष्ट्र चीन, भारत, हङकङ, अमेरिका, सिङ्गापुर लगायतका राष्ट्रमा निर्यात हुने गर्दछ । अपिनाम्पा संरक्षण कार्यालयबाट हरेक वर्ष व्यवसायीले वैधानिक रुपमा निकासी पुर्जी लिने गरे तापनि अवैधानिक रुपमा संयौ किलोग्राम बराबरको यार्सागुम्बा निकासी हुने गरेको छ । त्यसबाट संकलन हुने लाखौँ राजस्व छली हुँदै आएको अधिकांश सरोकारवालाको बुझाइ छ ।

प्रदेश नम्बर ७ का दुई पहाडी जिल्ला दार्चुला र बझाङका उच्च हिमाली भेगबाट वर्षेनी ठूलो परिमाणमा यार्सागुम्बा सङ्कलन हुने गरेको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयलाई यस वर्ष ८ सय २० किलोग्राम यार्सागुम्बा निकासी गर्ने गरी विभागले कार्ययोजना स्वीकृत गराएको थियो । गतवर्ष निर्धारण गरिएको लक्ष्यभन्दा बढी यार्सागुम्बा उत्पादन भए पछि यस वर्ष निकासी दर बढाएको हो ।

यार्सागुम्बा व्यवस्थापन तथा सङ्कलन तथा ओसारपसार निर्देशिका अनुसार गत वर्ष दार्चुलाबाट ६ सय ९३ किलोग्राम यार्सागुम्बा निकासीका लागि अनुमति दिइएकोमा १ सय ५० किलोग्राम थप सङ्कलन भए पछि यस वर्ष ८ सय २० किलोग्राम निकासी गर्ने गरी कार्ययोजना स्वीकृत गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्