वैदेशिक रोजगारीको रेमिट्यान्स अंग्रेजी पढाउन खर्च



रामधन राई, खोटाङ
वैदेशिक रोजगारीवाट खोटाङ भित्रिने अधिकांश रेमिट्यान्स वालवालिकाको पठनपाठनमा खर्च हुने गरेको पाईएको छ । वैदेशिक रोजगारीको लागि खाडी तथा मलेसिया लगायतका देशहरुमा गएका कामदारहरुवाट आएका रेमिट्यान्स दिक्तेलवजार लगायतका शहरहरुमा वालवालिका पढाउन खर्च गरिएको पाईएको हो ।

जिल्ला भित्रिने रेमिट्यान्स बढी मात्रामा शहरवजारका वोर्डिङ स्कुलहरुमा वालवालिका भर्ना गराई अंग्रेजी माध्यममा पठनपाठन गराउँदा खर्च हुने गरेको अध्ययनले देखाउँछ । साविकको सदरमुकाम दिक्तेलवजार अर्थात दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालन गरिएका ५ वटा अंग्रेजी माध्यमका निजी विद्यालयहरुमा २७ प्रतिशत वालवालिका वैदेशिक रोजगारीमा गएकाको छोराछोरी पाईएको छ । जसमध्ये सदरमुकाम वाहिरवाट आएर भाडा(डेरा)मा वसेका अभिभावकका वालवालिका वोर्डिङ स्कुलमा अध्ययन गरिरहेको तथ्याङ्क रहेको छ ।

सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गरिरहेको सुरक्षित आप्रवासन परियोजना (सामी) , वालसेवा समाज नेपाल, नेर्पा र नवकिरण सेवा समाज दुर्छिमले हालै संकलन गरेको निजी निजी विद्यालय स्तरीय तथ्याङ्क अनुरुप अंग्रेजी भाषामा पठनपाठन गराउनकै लागि उल्लेख्य अभिभावक दिक्तेलबजार वस्ने गरेको पाईएको हो । परियोजना अन्तर्गत वालसेवा समाजका विद्यालय तथा आमसञ्चार कार्यक्रम संयोजक ओजोनवावु आचार्यका अनुसार दिक्तेलवजारमा सञ्चालित माउण्ट एभरेष्ट ईङलिस बोर्डिङ स्कुल, दिक्तेल ईङ्लिस बोर्डिङ स्कुल, हिलसाईड वोर्डिङ स्कुल(स्याम्पल एकेडेमी) आदर्श शिक्षा सदन, र समता स्कुलमा अध्ययन गरिएको थियो ।

पाँच विद्यालयको कूल दुई हजार ७ सय १९ विद्यार्थीमध्ये ७ सय ३८ विद्याथी विद्यार्थी वैदेशिक रोजगारीमा गएकाको छोराछोरी रहेका छन् । जसमध्ये केही वाहेक प्राय सवै दिक्तेलवजार वाहिरको रहेको पाईएको कार्यक्रम संयोजक आचार्यले जनाउनुभयो ।

गाउँगाउँमा वोर्डिङ स्कुल सञ्चालन भईरहेको अवस्थामा समेत १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानवाट वैदेशिक रोजगारीमा जानेको ५ सय ४३ वालवच्चा बोर्डिङ स्कुलमा अध्ययनरत छन् । अभिभावक स्वयम समेत दिक्तेलवजारमा भाडामा वसेर पठनपाठन गराउने वैदेशिक रोजगारीमा जानेको कूल वालवालिकामध्ये केपीलासगढी गाउँपालिकावाट ४३, हलेसी तुवाचुङ नगरपालिकावाट ३४, साकेला गाउँपालिकावाट ३७ जना, रावावेंसी गाउँपालिकावाट ७ जना वालवालिका रहेका छन् । यस्तै, वैदेशिक रोजगारीमा वुवा अर्थात आमा भएका दिपु्रङ चुईचुम्मा गाउँपालिकाका २५, ऐंसेलुखर्क गाउँपालिकाका ५ र खोटेहाङ गाउँपालिकावाट २ जना वच्चाहरु दिक्तेलवजारको वोर्डिङ स्कुलहरुमा अध्ययनरत छन् ।

वैदेशिक रोजगारीमा जाने परिवारका दिक्तेलवजारमा अध्ययन गर्ने विद्यार्थीमध्ये सवै भन्दा वढी जनजाति ४ सय १९ जना रहेका छन् । यस्तै, व्राम्हण, क्षेत्री, सन्यासी २ सय ७५ र दलित ४४ जना रहेका छन् । दिक्तेलवजारका वोर्डिङहरुमा अध्ययन गर्ने वैदेशिक रोजगारीमा गएकाको छोराछोरीमध्ये छात्रा ३ सय १७ र छात्र ४ सय २१ जना रहेका छन् ।
दिक्तेलवजारमा कोठा भाडामा लिएर वच्चालाई पढाउन एक वच्चा–एक अभिभावक वरावर वार्षिक सरदर एक लाख ६२ हजार रुपैंयाँ खर्च हुने देखिन्छ । दिक्तेलवजारका वोर्डिङ स्कुलहरुमा भर्ना शुल्क सरदर ३ हजार रुपैंया हुन आउँछ ।

यस्तै, सरदरमा भर्ना १ हजार र तीन जोर ड्रेसलाई मासिक ५ सयको हिसाव राख्न सकिन्छ । बच्चालाई टिफिन लगायत अन्यमा मासिक १ हजार खर्च हुने गरेको अभिभावक स्वयम वताउँछन् । वजार तथा आसपासका कोठा भाडा सरदर २ हजार रुपैंयाँ रहेको छ । खाना तथा खाजाको लागि मासिक ६ हजार मात्र छुट्याउँदा पनि वार्षिक २ लाखको हाराहारीमा खर्च हुने गरेको अभिभावक वताउँछन् ।

जिल्लामा मासिक करोडौं रुपैंयाँ रेमिट्यान्स भित्रिने गर्दछ । रेमिट्यान्समधये सवैभन्दा वढी जग्गा रिद तथा घर निर्माणमा खर्च हुने पाईएको छ । त्यसपछि क्रमश ः घर खर्च, शिक्षा तथा स्वास्थ्य र ऋण तिर्नमा खर्च हुने गरेको तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्