प्रधानमन्त्रीले निर्मलाका आमाबालाई भनेः निर्मला मेरी पनि छोरी हुन, न्याय पक्का मिल्छ



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका निर्मलाका बाबु यज्ञराज र आमा दुर्गादेवीलाई प्रधानमन्त्रीले अपराधी पहिचान गरी कानुन अनुसार कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । भेटमा प्रधानमन्त्रीले भने ‘निर्मला तपाईंहरूकी मात्र छोरी हैनन् हाम्री पनि छोरी हुन्, हामी उनका हत्यारा खोज्न सरकारले कुनै कसर बाँकी राख्ने छैन। हामीले यो घटनामा लापरबाही गर्नेलाई पनि कारबाही गरेका छौं। तपाईंहरू ढुक्क हुनुहोस ।’

 

बालुवाटारमा बिहान आधा घण्टा भएको भेटमा निर्मलाका बाबुआमासँगै प्रदेश ७ का प्रमुख राजनीतिक दलका नेताहरू सहभागी थिए। नेताहरू भीम रावल, लेखराज भट्ट, दीपकप्रकाश भट्ट, रमेश लेखकसहित नेकपा र कांग्रेसका प्रमुख नेताहरू भेटमा थिए।

घटनाको ५३ औं दिनमा पनि निर्मलालाई बलात्कारपछि हत्या गर्ने दोषीको पत्ता लाग्न सकेको छैन। घटना छानबिन गर्न सरकारले दुइटा समिति गठन गरिसकेको छ।

अघिल्लो समितिले दिएको प्रतिवेदनका आधारमा प्रारम्भिक छानबिनमा संलग्न प्रहरी अधिकारीहरूलाई सरकारले निलम्बन गरेको छ।

सरकारले आइतबार धिरु बस्त्यतको नेतृत्वमा शक्तिशाली छानबीन समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्