नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा खरेल नियुक्त



काठमाडौं  । आइतबार राति सकिएको मन्त्रिपरिषद् बैठकले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

पर्यटन मन्त्री रवीन्द्र अधिकारीको प्रस्तावमा शुक्रबार मात्रै मन्त्रीपरिषदले नेपाल वायु सेवा निगमको सदस्यमा खरेललाई नियुक्त गरेको थियो। खरेललाई कार्यकारी अध्यक्ष बनाउने योजनाअनुसार सदस्यमा नियुक्त गरिएको थियो।

निगमको संचालक समितिमा अध्यक्षसहित ७ जना सदस्य रहने व्यवस्था छ। खरेल अहिलेका महाप्रबन्धक सुगतरत्न कशांकारअघि निगममा खुला प्रतिष्प्रर्धाबाट महाप्रबन्धक भएका थिए। तर कार्यकाल पूरा नगरी निगमबाट बाहिरिएपछि सरकारले कशांकारलाई महाप्रबन्धक नियुक्त गरेको थियो।

अझै ८ महिना कार्यकाल बाँकी रहेका कशांकारले आफु पूरै कार्यकाल सक्रिय रहने बताएका छन्। यस्तै, नेपालको संविधानको धारा २७७ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारका योगदान पुर्याउने विभिन्न व्यक्तिलाई विभूषण दिने सम्बन्धी समितिको प्रस्ताव राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय पनि भएको छ।

चिनीको लागि यस वर्षका लागि १ लाख टनको कोटा निर्धारण गररिएको छ भने उखु उत्पादक किसानहरुलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने बैठकले निर्णय गरेको छ। मुलुकी फौजदारी अपराध संहिताको अनुसूची हेरफेर गरी सबै प्रकारका ठगी मुद्दाहरुको वादी नेपाल सरकार रहनेगरी निर्णय भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्