बार्सिलोनाको कठिन जित



लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिंग च्याम्पियन बार्सिलोनाले कठिन जित दर्ता गरेको छ ।

शनिवार राति अवे मैदानमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाड माथि कठिन जित हात पारेको हो । पहिलो हाफमा १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै बार्सिलोना २–१ गोलले विजयी भयो ।

बार्सिलोनाको जितमा लुइस स्वारेज र ओस्माने डेम्बेलले एक–एक गोल गरेका थिए । सोसिडाडका लागि भने इलोस्टोन्डोले एक गोल आफ्नो नाममा लेखायो । खेलको १२ औं मिनेटमा सोसिडाडका अलोस्टोन्डोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको पहिलो हाफमा १–० ले पछि परेको बार्सिलोनाले भने दोस्रो हाफमा दुई गोल फर्कायो ।

खेलको ६३ औं मिनेटमा स्वारेजले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । त्यसको तीन मिनेटपछि नै डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २–१ ले अग्रता दिलाए । त्यसपछि भने दुवै टोलीबाट कुनै गोल हुन सकेन र बार्सिलोनाले जित सुनिश्चित ग¥यो । जितसँगै बार्सिलोनाले चार खेलबाट १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थान ओगटेको छ ।

रियलले अंक बाँड्यो
स्पेनिस ला लिगामा रियल मेड्रिडले बराबरी खेल्दै अंक बाँडेको छ ।
शनिवार राति अवे मैदानमा भएको खेलमा रियल मेड्रिड र एथ्लेटिक विल्वाओ १–१ गोलको बराबरीमा रोकिएको हो । विल्वाओका इकर मुनियनले गोल गरेका थिए भने रियलका इस्कोले बराबरी गोल फर्काएका थिए ।

इकरको गोलमा रियल खेलको ३२औं मिनेटमा पछि परेको थियो ।पहिलो हाफमा १–० ले पछि परेपछि रियलले आक्रमक फुटबल खेल्दै दोस्रो हाफमा गोल फर्काउन सफल भयो । खेलको ६३औं मिनेटमा इस्कोले गेरेथ बेलको पासमा बराबरी गोल गर्न सफल भएका थिए ।

रियलको ४ खेलबाट १० अंक छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ४ खेलबाट १२ अंक रहेको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको अन्य खेलमा एट्लेटिको मेड्रिड र आईबरले १–१ गोल तथा भ्यालेन्सिया र रियल बेटिसले गोलरहित बराबरी खेल्दै अंक बांडे ।

प्रतिक्रिया दिनुहोस्