नेपालको विजयी सुरुवात



काठमाडौँ, नेस
भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी सुरुवात गरेको छ ।

नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । एक सय ९० रनको विजयी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको यू–१९ टोलीले ४७.४ ओभरमा एक सय ६४ रन मात्र बनाएपछि नेपालको जित सुनिश्चित बनेको थियो ।

त्यसअघि टस हारेर ब्याटिङ गर्ने क्रममा नेपालका लागि पवन सर्राफले अविजित ७८ रन जोडेका थिए । उनले ९६ बल खेल्दै एक छक्का र १० चौका प्रहार गरे । यस्तै सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बमले १६ तथा भिम सार्कीले १३ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मोहम्मद कबिरले तीन तथा अबिद मोहमदी र अरिफ खानले २–२ विकेट लिएका थिए ।

अफगानिस्तानका तर्फबाट भने कप्तान इजाज अहमद मेहरानले ५९ रन जोडेका थिए । यसैगरी रेयाज हसनले ३८ र अब्दुल रहमान रहमानीले ३७ रन बनाए । बलिङतर्फ नेपालका सागर ढकालले चार तथा रसीद खान र कमलसिंह ऐरीले दुई–दुई विकेट झारेका थिए ।

प्रतिक्रिया दिनुहोस्