भनाइमा समाजवादी गराइमा फरकपन



कम्युनिजम आफैंमा एउटा महत्व राख्ने शब्द हो । विश्व पुँजीवाद र समाजवाद दुई ध्रुवमा विभाजन भएको छ । अहिले पुँजीवादी अर्थ व्यवस्थाले विश्वलाई हल्लाउन सफल भएको छ । अहिले कम्युनिजम अर्थात् समाजवाद विश्वमा अल्पमतमा मात्र परेको छैन विश्वबाटै लोपोन्मुख अवस्थामा रहेको छ ।

दोस्रो विश्वयुद्धपछि संसारमा पुँजीवाद र समाजवादबीच टकरावको अवस्था सृजना भएको थियो । पुँजीवादको नेतृत्व अमेरिकालगायतका देशले गरेका थिए भने समाजवाद अर्थात् कम्युनिजमको नेतृत्व रुसले गरेको थियो । कालान्तरमा रुसमा समाजवादी अर्थव्यवस्था वा शासन ढलेपछि अहिले विश्वमा समाजवादको अवस्था दयनीय मात्र होइन कोमामा गएको जस्तो भएको छ ।

विश्वबाट समाजवाद पलायन भए पनि नेपालमा भने पछिल्लो समयमा कम्युनिजम अर्थात् समाजवादीहरुको समूह एक नम्बरमा रहँदै आएको छ ।

तर पनि शासन व्यवस्था भने प्रायः मिलिजुली रुपमा चलाउनुपर्ने अवस्था सृजना हुँदै आएको सर्वविदित नै छ । अहिले समाजवादीहरुको हातमा दुई तिहाइ छ र सरकारको नेतृत्व मूलधारको पार्टी तत्कालीन नेकपा एमालेका नेता केपी ओलीले गरेका छन् ।

निर्वाचनबाट पनि समाजवादी पार्टीको सरकार बनाउन सकिने उदाहरण विश्वलाई दिन उनीहरु सफल भए पनि मुलुक निर्माणमा भने उनीहरु अर्थात् समाजवादीहरुले अंगालेको नीतिले जनतामा चरम निराशा उत्पन्न गराइदिएको छ ।

लगभग २८ वर्षपछि सरकारले ५ वर्ष स्थिर सरकारको परिकल्पना गरिएको भए पनि सरकार सञ्चालक दलका नेता र प्रधानमन्त्री तथा मन्त्रीहरुको कार्यशैली हेर्दा लाग्छ, मुलुकमा समाजवादी सरकार भनिए पनि यो सरकारको कार्यशैली समाजवादी होइन फाँसीवादको जस्तो देखिन्छ । प्रधानमन्त्री कामभन्दा कमेडियन बन्दै गएको र मन्त्रीहरु जनताप्रति उत्तरदायी हुनुभन्दा पनि आफ्नो निहित स्वार्थ तथा कमाउ धन्दामा लाग्न थालेपछि जनता चरम निराशामा फसेका छन् ।

मुलुकलाई समृद्ध बनाउने नारा अहिले जोडतोडले उठ्ने गरेको छ । काम भने प्रायः शून्य अवस्थामा छ । प्रधानमन्त्रीले हरेक भाषणमा भन्ने गर्नुभएको छ– अब पछाडि फर्कने अवस्था छैन । अहिलेको अवस्था हेर्ने हो भने प्रधानमन्त्रीले ठाउँ–ठाउँमा गर्नुभएको उहाँको भाषणले उहाँलाई नै गिज्याइरहेको भान हुन्छ ।

जनताको अपेक्षा एकातिर, सरकारको कार्यशैली अर्कोतिर भएको कारण जनतामा चरम निराशा छाएको हो । कम्तीमा पनि समाजवादी व्यवस्थाको नाम दिएपछि केही हदसम्म भए पनि त्यसको छाँट वा झल्को दिने काम सरकारबाट हुनुपर्ने थियो, त्यो हुन सकेन । समाजवादी अर्थ व्यवस्था भनेर समाजवादलाई अपव्याख्या गर्ने काम यो सरकारले अब बन्द गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्