इलामका बालबालिकालाई फूटबलको ‘ग्रासरुट ट्रेनिङ’ सुरु



गणेश घिमिरे, इलाम ।
जिल्लाबाट नयाँ नयाँ खेलाडी उत्पादन गर्ने उद्येश्यले इलाममा ‘ग्रासरुट ट्रेनिङ’ थालिएको छ । सदरमुकामसहित जिल्लाका विभिन्न स्थानीय तहमा ८ देखि १२ वर्षका बालबालिकालाई फुटबल प्रशिक्षण दिन थालिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र जिल्ला फुटबल संघको समन्वयमा सदरमुकामका १ सय ४० बालकलाई फुटबल सीपको तालिम दिन थालिएको हो ।

प्रत्येक हप्ताको शुक्रबार र शनिबार तालिम दिन थालिएको संघले जनाएको छ । जिल्लाका विभिन्न सरकारी तथा निजी विद्यालयका १ सय ६० बालबालिकालाई यो तालिम दिने लक्ष्य रहेको संघका अध्यक्ष महेश श्रेष्ठले बताए । जिल्लामा खेलाडी उत्पादन गर्न तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । देउमाई र सूर्याेदय नगरपालिकासहित रोङ गाउँपालिकामा पनि ग्रासरुट तालिम सञ्चालन गर्ने तयारी भएको श्रेष्ठको भनाई छ । ती नगर र गाउँपालिकाले ग्रासरुट तालिमका लागि बजेट छुट्याइसकेको छ । एन्फाले देशका ६ हजार बालबालिकालाई ग्रासरुट तालिम दिन लागेको एन्फा केन्द्रीय सदस्य निरोज खड्गीले बताए ।

देशका ४४ जिल्लामा एकै प्रकारको तालिम एकसाथ दिन थालेको खड्गीले जानकारी गराए । सुरुमा बालबालिकालाई फुटबलको सीप सिकाउने त्यसपछि लिग खेल खेलाउने बताइएको छ । यो कार्य अब बर्षभर सञ्चालन हुनेछ । एन्फाले देशका ३५ खेलमैदानलाई ग्रासरुट तालिमकै लागि तयारी गर्न ५–५ लाख रुपैयाँ दिएको खड्गीले बताए । इलामसहित १० जिल्लालाई खेलमैदान निर्माण र मर्मतका लागि एन्फाले यो वर्ष १०–१० लाख रुपैयाँ दिएको थियो । तर इलामको ठूलो टुँडिखेल चाहिँ नेपाली सेनाको नाममा रहेकाले एन्फाले पठाएको रकम करफोक खेलमैदान मर्मत संभार गरीने भएको ।

ग्रासरुट तालिममा इलामका एन्फा प्रशिक्षक दर्शन भक्तराजसहित अगुवा पाँचजना खेलाडीले प्रशिक्षण दिनेछन् । तालिमका लागि एन्फाले संघलाई केही बल हस्तान्तरण पनि गरेको छ । यो तालिमले जिल्लामा २५ देखि ३० जनासम्म राम्रा खेलाडी उत्पादन गर्ने र फुटबल एकाडेमी सञ्चालन गर्ने लक्ष्य रहेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्