सकियो स्वस्तिमाको बुलबुल



नायिका स्वस्तिमा खड्का केन्द्रीय भूमिकामा रहेको फिल्म बुलबुलको छायांकन २५ दिनमै सम्पन्न भएको छ। साउनको अन्तिम साताबाट फ्लोरमा गएको फिल्म निर्धारित समयभन्दा अगाडि नै सकिएको निर्माण टिमले जानकारी गराएको छ।

निर्देशक विनोद पौडेलले एउटा गीतको काम बाँकी राखेर फिल्मको सुटिङ सकाएको बताए। ‘आउटडोरमा सेट नै लगाएर खिच्नुपर्ने गीत बाँकी छ। मौसम अझै सफा भइसकेको छैन। त्यसैले त्यो गीत दशैं–तिहारको बीचमा खिच्ने गरी अहिलेलाई प्याकअप गरेका हौं’ –पौडेलले जानकारी गराए। साँघुरो नामक फिल्मका लेखक पौडेलको यो डेब्यु निर्देशन हो। फिल्मले टेम्पो चालक महिलाको दुनियाँलाई पर्दामा प्रस्तुत गर्नेछ। फिल्ममा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन्। उनले १ महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन्। फिल्ममा लक्ष्मी बर्देवाले स्वस्तिमाकी टेम्पोचालक साथीको भूमिका निर्वाह गरेकी छिन्।

सुटिङ पूरा भएसँगै फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। निर्माता अविरल थापाले फिल्म भ्यालेन्टाइन डेको अवसरमा रिलिज हुने जानकारी गराए। ‘नेपाली मितिअनुसार फागुन ३ गते फिल्म रिलिज गर्ने निर्णय गरेका छौं’, थापाले भने– ‘डायस्पोराका केही देशमा प्रिमियर गरेर बल्ल रिलिज गर्ने सोचअनुरूप फागुनको समय राखेका हौं।’ फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्ज्वल अधिकारी, दीपक क्षत्री, जोयस पाण्डे, आशीका पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ। सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई निर्देशक विनोद पौडेलले नै लेखेका छन् भने कोसिस क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर रहेको छ। फिल्म पुरुषोत्तम पाण्डे, अविरल थापा, भीम थापा र राजु पौडलले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्