फलेबास नगरपालिकाको राजस्व एक बर्षमा ४० लाख मात्रै



नेपाल समाचारपत्र, पर्वत ।
फलेबास नगरपालिकाले गत आर्थिक बर्षमा ४० लाख रुपैंया मात्रै आन्तरिक रुपमा राजस्व संकलन गरेको छ ।
फलेबास नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ मा ४० लाख ४४ हजार रुपैंया मात्रै राजस्व संकलन गरेको हो ।

नगरपालिकाले आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार नगरपालिकाले एकिकृत सम्पति कर, सिफारिस, मालपोत लगायतका आन्तरिक स्रोतबाट उक्त आम्दानी गरेको राजस्व शाखाका प्रमुख रमेश पौडेलले जानकारी दिए ।

नगरपालिकाले सबैभन्दा बढी रकम एकिकृत सम्पति करब एकीकृत सम्पत्ति करबाट १७ लाख १२ हजार रुपैयाँ संकलन गरेको छ । गत वैशाखदेखि लागू गरिएको एकीकृत सम्पत्ति कर फलेवास नगरपालिकाका लागि आन्तरिक स्रोत वृद्धिमा भरपर्दो आधारका रुपमा देखिएपनि राजस्व भने नगन्य उठेको छ । नगरपालिकाले २०७४।७५ मा घर नक्सा पासको व्यवस्था कार्यान्यन गर्न सकेन भने घरबहाल कर र सवारी करबाट लक्ष्य अनुसार राजस्व उठाउन नसकिएको राजस्व शाखा प्रमुख पौडेलले बताए । एकिकृत सम्पत्ति कर न्यून दररेटमा लागु गरिएका कारण पनि कम राजस्व उठेको छ भने वडा कार्यालयबाट सिफारिस,पञ्जिकरणबाट प्रक्षेपण गरे अनुसारको राजस्व समेत उठाउन सकेका छैनन ।

नगर उन्मुख फलेबासमा धेरै घर पक्की छैनन भने जमिनको समेत न्युन मुल्याँकन राखिएका कारण एकिकृत सम्पतीकरबाट समेत थोरै मात्रै राजस्व संकलन भएको छ । एकिकृत सम्पती कर तर्फ सबैभन्दा बढी वडा ५ को खानीगाउँ र कम वडा ११ पाङराङबाट संकलन भएको छ । वडा नं ५ खानीगाउँले ३ लाख २६ हजार राजस्व संकलन गरेको थियो भने वडा नं ११ पाङ्गराङ्गले ३० हजार रुपैंया मात्रै राजस्व संकलन गरेको छ ।

फलेबासले पहिलो पटक नयाँ नगरपालिकामा बिबादरहित ढंगले एकिकृत सम्पतीकर उठाएको र आगामी दिनमा यसर्ला ब्यबस्थित गर्दै लैजाने योजना रहेको नगरप्रमुख पदमपाणी शर्माले बताए । ‘ दुई महिनामै अपेक्षा भन्दा राम्रो उपलब्धि भएको हो’ उनले भने ‘नगरको समृद्धि चाहनेले स्वतस्फुर्त कर तिरेका छन् , यसलाई ब्यबस्थित गर्दै लैजान जरुरी छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्