एयर एसियाले यात्रुसँग उठाएको सवा ७ करोड पर्यटन शुल्क तिरेन



नेपाल समाचारपत्र, काठमाडौं
यात्रुबाट रकम उठाए पनि मलेसियाको निजी हवाई सेवा कम्पनी एयर एसिया एक्सले नेपाल पर्यटन बोर्डले नतिर्दा बोर्डले पाउनुपर्ने ७ करोड रुपियाँभन्दा बढी रकम डुब्ने खतरा बढेको छ । एयर एसियाले असोज २७ गतेदेखि काठमाडौं उडान बन्द गर्ने भएपछि बोर्डको बक्यौता डुब्ने खतरा बढेको हो ।

एयर एसियाले बोर्डलाई ७ करोड २३ लाख रुपियाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको छ ।बोर्डले बारम्बार ताकेता गरे पनि कम्पनीले पर्यटन शुल्कवापतको बक्यौता रकम भुक्तानी गरेको छैन । बोर्डले अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्समार्फत नेपालबाट बाहिर जाने विदेशी नागरिकसँग टिकट काट्दा नै पर्यटन शुल्कवापत प्रतिव्यक्ति एक हजार रुपियाँ शुल्क उठाउँदै आएको छ ।

एयर एसियाले विदेशी हवाई यात्रुसँग उठाएका रकम बोर्डलाई नतिरेको हो ।
नियमअनुसार शुल्क बिल प्राप्त भएको १५ दिनभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर, एसियाले लामो समयदेखि भुक्तानी गर्न आलटाल गर्दै आएको छ । ‘एयर एसियाले पर्यटन शुल्कवापत जम्मा भएको ७ करोड २३ लाख ८७ हजार १ सय ७६ रुपियाँ भुक्तानी गर्न बाँकी रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउनुभयो ।

पर्यटन बोर्डले एयर एसियाबाट रकम भुक्तान गर्न नसकेपछि सात महिना अगाडि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहयोग मागेको जोशीले बताउनुभयो । बोर्डले बक्यौता असुलीको लागि पुनः आग्रह गरेको छ । यात्रुुुसँग करोडौं रुकम संकलन गरे पनि बोर्डले ताकेता गरेपछि एयर एसियाले ५÷१० लाख रुपियाँ मात्र भुक्तानी गरेर औपचारिकता पँरा गर्दै आएको छ ।

एयर एसियाको नेपाल प्रतिनिधि (जीएसए) हरिमान लामालाई बोर्डले पत्र काट्दै बक्यौता असुलीको लागि आग्रह गर्दै आएको भए पनि लामाले आलटाल गर्दै बक्यौता भुक्तानी गरेका छैनन् ।

बोर्डले रकम भुक्तानीको लागि सहयोगसहितको पत्र पाप्त गरेको प्राधिकरणका महानिर्देशक सन्जीव गौतम बताउनुभयो ।

प्राधिकरणले मातहतको निकाय त्रिभुवन अन्तर्राष्ट्रिय विमाानस्थलसँग नेपाल बोर्डको बक्यौता असुल्नको लागि आन्तरिक तयारी भइरहेको महानिर्देशक गौतको भनाइ छ ।

एयर एसियाले बोर्डलाई तिर्नुपर्ने पर्यटन शुल्कवापतको बक्यौता पाउनेछ, यसको लागि एयर एसिया केन्द्रीय कार्यालय मलेसियामा पत्राचार गरिसकेको बताउनुभयो । मलेसियन नागरिक उड्डयन प्राधिकरणसँग छलफल भइरहेको पनि गौतमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्