आत्महत्याको भयावह स्थिति



नेपालमा बलात्काका घटनाको पछिल्लो भयाभह स्थिति देखिएसँगै आत्महत्या गर्ने संख्या पनि व्यापक भएको देखिएको छ । नेपालसहित विभिन्न देशमा आत्महत्याविरुद्धको विश्व दिवस मनाउँदै गर्दा सार्वजनिक भएको तथ्यांकले सबैलाई सोच्न बाध्य बनाएको छ ।

आत्महत्या गर्नबाट रोकथाम गर्ने उपायको खोजी गर्दै सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर १० मा यो दिवस मनाइँदै आएको छ । यस दिवस मनाइँदै गर्दा नेपाल प्रहरीले नेपालमा आत्महत्याको भयावह तथ्यांक सार्वजनिक गरेको छ । आर्थिक वर्ष ०७४÷७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीले प्रस्तुत गरेको छ, जुन अघिल्लो वर्षको भन्दा २१५ ले बढी हो । तीन वर्षअघि अर्थात् ०७३÷७४ मा ५ हजार १३१ जनाले आत्महत्या गरेका थिए ।
आत्महत्या विश्वव्यापी समस्या बन्दै गइरहेको परिप्रेक्ष्यमा नेपालमा सबैभन्दा बढी विष सेवन र झुन्डिएर आत्महत्या गर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि ८ देखि १० लाख मानिसले आत्महत्याको बाटो रोजिरहेका छन् । आत्महत्या गर्नेमा नेपाल विश्वमा सातौँ स्थानमा पर्छ भने महिलामा तेस्रो । हरेक वर्ष विश्व स्वास्थ्य संगठनलगायतका संस्थाले विभिन्न कार्यक्रम गर्दै आए पनि आत्महत्या रोकथाम न्यूनीकरण हुन सकिरहेको छैन ।

विश्वमा हरेक ४० सेकेन्डमा एकजनाले आत्महत्याकै कारण ज्यान गुमाइरहेका छन् । र, प्रत्येक तीन सेकेन्डमा एकजनाले आत्महत्याको प्रयास गर्ने गरिरहेका छन् । आत्महत्यासँग डर लाग्दो तथ्यांक सार्वजनिक भइरहँदा मुख्य कारणचाहिँ डिप्रेसन भएको चिकित्सकहरुको ठहर छ । विभिन्न किसिमका हिंसा, पारिवारिक कलह र आर्थिक समस्या डिप्रेसन बढ्नुको कारक मानिएको छ । डिप्रेसन बढ्दै जाँदा आत्महत्याको रुप लिने गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक पाँचमध्ये एकजनामा कुनै न कुनै प्रकारको मानसिक रोग हुन्छ भने आधाभन्दा बढीलाई उपचारसम्बन्धी चेतना नै छैन । सामाजिक विभेद र रोग नस्वीकार्ने प्रवृत्तिले धेरै मानिस उपचारको पहुँचमा नरहेको तथ्यांकले देखाएको छ । प्रहरीले देशभरि आत्महत्याबाट ज्यान गुमाउनेको आँकडा सार्वजनिक गर्दा हरेक दिन औसत १५ जनाद्वारा आत्महत्या प्रयास गर्ने गरिएको पाइएको छ । नेपाली समाजमा आत्महत्याको प्रवृत्ति बढेर गएको छ । बर्सेनि हजारौं मानिस कुबाटोतर्फ आकर्षित भइरहेको विषयमा सूक्ष्म अध्ययन गर्नुपर्ने भएको छ । आत्महत्या डर लाग्दो सामाजिक समस्या बनिरहँदा राज्यले नागरिकका लागि गर्नुपर्ने दायित्व निर्वाह गर्न सकिरहेको छैन ।

मनोचिकित्सकहरु व्यक्तिको मानसिक मनोदशालाई आत्महत्याको कारक मान्छन् । मानिस मनोवैज्ञानिकरुपमा कमजोर हुँदै जाँदा चरम निराशामा पुगेर आत्महत्याको बाटो रोज्छन् भन्ने निष्कर्ष निकाल्छन् । आत्महत्यालाई डिप्रेसन वा मानसिक तनावसँग मात्रै जोडेर हेर्नु सर्वथा उचित नहुन सक्छ ।

 

आत्महत्याका पछाडि एउटा व्यक्तिको मानसिक मनोदशासँगै थुप्रै सामाजिक र आर्थिक पक्ष पनि जिम्मेवार हुन्छन् । मानिसले उच्च महत्वाकांक्षा पूरा गर्न नसक्दा, प्रेम, अध्ययनमा असफल हुँदा, पारिवारिक सम्बन्धमा तिक्तता आउँदा, आर्थिक अभावजस्ता कारण निराशा उत्पन्न भई आत्महत्या रोज्न पुगेका हुन सक्छन् । आत्महत्याका पछाडि यी र यस्ता अन्य थुप्रै कारण हुन सक्छन्, जसको समयमै खोजी गरिनुपर्छ ।

पछिल्लो समय सामूहिक आत्महत्या गर्ने प्रवृत्ति पनि बढेको छ । बच्चालाई पेटभरि खान दिन नसक्दा अभिभावकले बालबच्चासहित आत्महत्या गरेका कैयौं उदाहरण छन् । नेपाली समाजमा आत्महत्या विकराल सामाजिक समस्या बनिरहँदा यसलाई व्यक्तिको मानसिक समस्याका रुपमा बुझ्नु अन्याय हुनजान्छ । प्रतिस्पर्धात्मक समाजमा आधुनिक जीवनशैलीमा चल्न नसक्दासमेत कतिपयले आत्महत्या गर्ने निर्णयमा पुगेको देखिन्छ ।

आत्महत्यालाई आपराधिक ढंगले हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन आउन नसक्दा पनि यो ठूलो समस्या बन्दै गएको छ । राज्यले यसलाई सामाजिक समस्याका रुपमा लिएर समाजमा जनचेतना बढाउने कार्यक्रम ल्याउनु जरुरी देखिन्छ ।
–विकास रेग्मी, पोखरा ।

प्रतिक्रिया दिनुहोस्