वर्षा सकियो, अब सडक बनाऔं



भदौ दोस्रो सातायता वर्षा रोकिएको छ । छिटफुटबाहेक पानी नपरेका कारण बाढी र पहिरोको त्रास पनि बिस्तारै कम हुँदै गएको छ । खहरे र खोलामा पानीको बहाव घटेको छ । वर्षासँगै भत्किएका जिल्लाका अधिकांश सडकमा सामान्यतया सवारी गुड्न थालेका छन् । निरन्तरको वर्षा र बाढीपहिरोका कारण ठप्पजस्तै रहेको सवारी सेवामा केही राहतको महसुस भएको भए पनि निर्बाध सवारी चल्ने वातावरण भने बनिसकेको छैन ।

यो वर्ष मात्रै झन्डै ५० करोड खर्चेर बनाइएका कच्ची सडक वर्षाका कारण क्षतविक्षत अवस्थामा रहेका छन् । कतै पहिरोले पुरेको अवस्था छ भने कतै बाढीले बगाएका कारण सडकको नामनिशान नै मेटिएको अवस्था छ ।
भदौ महिना लागेसँगै चाडपर्वको समय पनि शुरु भएको छ ।

सामान्य समयभन्दा चाडपर्वको समयमा आउजाउ धेरै हुने भएका कारण सडक प्रयोग गर्नेको संख्या पनि बढ्दै गएको छ । वर्षातको समयमा खेतीपातीको काम सकेर हिँड्नेदेखि चाडपर्वको लागि आवतजावत गर्नेसम्मलाई सडक सहज छैनन् । भत्केका सडकलाई सामान्य मर्मत गरेर सञ्चालनमा ल्याइएको भए पनि सवारीलाई निर्बाध चल्ने वातावरण बनेको छैन ।

छेउबाट भत्केका सडक, सडकमाथिबाट आएको पहिरोका कारण थुप्रिएको माटोका कारण जोखिमपूर्ण यात्रा सवारीले गरिरहेका छन् । वर्षात कम भएकाले बाढीपहिरोको जोखिम कम भए पनि सडकको मर्मत हुन नसकेका कारण रहेको जोखिम भने कम भएको छैन ।

सडकको ट्रयाक खोल्न र विस्तार गर्नमा करोडौं रकम खर्चेका जिल्लाका स्थानीय तहले सडकको मर्मतमा खासै चासो देखाएका छैनन् । सक्रिय वडाध्यक्ष भएका वडामा बाहेक अहिले पनि धेरै वडामा पुग्ने सडक प्रयोग गर्न नमिल्ने अवस्थामा छन् । सामान्य मर्मत सम्भार गरे मात्रै सडक सहज हुने भए पनि त्यसतर्फ स्थानीय तहको ध्यान नजानु दुःखद कुरा हो ।

विकासका हरेक पूर्वाधारसँग जोडिएको सडकलाई मजबुद नबनाउँदासम्म अन्य विकास निर्माणको काममा समेत अवरोध सिर्जना भैरहने भएकाले तत्काल सडकको मर्मत आवश्यक छ । एकातर्फ हिउँदे सिजन शुरु भैसकेको र अर्कोतर्फ चाडपर्वको समय पनि शुरु भएकाले करोड खर्चेर बनाएका सडक लाख खर्चेर मर्मत गर्न स्थानीय तहले जागरुकता देखाउनुपर्छ ।

सडकको मर्मत सम्भारका लागि बजेट विनियोजन गरेर बसेका स्थानीय तहले काममा तदारुकता नदेखाउनु दुःखद कुरा हो । सडकलाई मर्मत गर्नकै लागि असार मसान्त कुर्नुपर्दैन । आफूसँग भएको स्रोत–साधनको प्रयोग गरेर सडक मर्मत समयमै गर्ने हो भने आमसर्वसाधारणलाई सहज हुन्छ ।

सडकलाई सवारी चल्ने बनाएर सर्वसाधारणको सहज आवतजावतको व्यवस्था मिलाउनु स्थानीय तहको कर्तव्य भएकाले त्यसतर्फ समयमै ध्यान जाओस् । जोखिमपूर्ण ग्रामीण सडकले चाडपर्वमा दुःखद घटना निम्त्याउन सक्ने भएकाले त्यसतर्फ समयमै स्थानीय निकाय सचेत बन्नुपर्छ ।
– सुरज ताम्राकार, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्