नेपाली फिल्मलाई ओस्कारमा भिड्ने मौका



विश्वव्यापीरूपमा प्रतिष्ठित फिल्म अवार्ड ओस्कार एकेडेमी अवार्डको ९१औं संस्करणको प्रतिस्पर्धाका लागि नेपालस्थित ओस्कार छनोट समितिले नेपाली फिल्म पठाउन आ≈वान गरेको छ। ओस्कारका लागि नेपालको विदेशीभाषी फिल्म छनोट समितिले प्रेस विज्ञप्ति जारी गर्दै ओस्कारमा फिल्म पठाउन चाहने निर्माता निर्देशकलाई सचिवालयमा सम्पर्क गरी फिल्म पठाउन अनुरोध गरेको छ।

‘ओस्कारमा विदेशीभाषी फिल्म विधामा सहभागी गराउन विदेशीभाषी फिल्म छनोट समिति (नेपाल) लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट फिल्म छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी फिल्मका रूपमा सिफारिस गरी जानकारी गराउन उक्त संस्थाबाट अनुरोधपत्र प्राप्त भएकाले प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली फिल्म निर्देशक र निर्मातालाई आफ्नो फिल्म भदौ २९ गते शुक्रबारसम्म दर्ता गराउन आ≈वान गर्दछु’ –विज्ञप्तिमा भनिएको छ। प्रतिस्पर्धामा भाग लिन चाहेको फिल्म २०७४ असोज १५ गतेभन्दा पछि तथा २०७५ साल असोज १४ गतेभन्दा पहिला नै प्रदर्शन गरिएको हुनुपर्ने प्रावधान रहेको छ।

द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेद्वारा सन् २०१९ फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा ९१औं एकेडेमी अवार्डस् आयोजना गर्दैछ। विमल पौडेल अध्यक्ष रहेको नेपालको ओस्कार छनोट समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली, सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् भने चिरञ्जीवी गुरागाईं सचिव रहेका छन्।

प्रतिक्रिया दिनुहोस्