बस दुर्घटना अपडेटः गर्भवतीसहित घाईते पाँच जना कैलाली रिफर



विनोद सिंह विष्ट, बैतडी ।
महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको बांगाबगर नजिक आज दुई यात्रुवहाक बस ठोक्किएर घाईते भएका ५ जनालाई कैलाली रेफर गरिएको छ । रेफर गरिने घाईतेहरुमा दार्चुलाको मार्मा गाउँपालिका ३ का २७ बर्षीया मनिषा विष्ट ,उनका श्रीमान ३३ बर्षीय पदम विष्ट , ३० बर्षीय सुरेन्द्र विष्ट, मार्मा ६ का २४ बर्षीय धन बहादुर नाथ र डडेल्धुरा अमरगढी नगरपालिका ६ का ४० बर्षीय राम बहादुर खड्का रहेका छन् । मनिषा गर्भवती समेत प्रहरीले जनाएको छ । खड्का ना ५ ख ७५४७ नं बसका चालक रहेका थिए ।

उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार हुन नसक्दा थप उपचारका लागी कैलाली रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडी प्रवक्ता , प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । दुर्घटनामा परी १९ जना घाईते भएका थिए । अन्य घाईते गोकुलेश्वर अस्पतालमा उपचार पछी डिस्चार्ज भईसकेका बताईएको छ । महेन्द्रनगरवाट दार्चुलाका लागी छुटेको ना ६ ख ७४२० बस र गन्नावाट महेन्द्रनगरका लागी छुटेको ना ५ ख ७५४७ नं बस आज अपरान्ह साढे ४ बजे बांगाबगर ठोक्किएका थिए । दुर्घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्