द्धन्द्ध पिडित महिलाहरुको तिज शुभकामना



धनवीर दाहाल, रुकुम ।
हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको सन्दर्भ पारेर रुकुमका द्वन्द्वपीडित महिलाहरुले शुभकामना आदानप्रदान तथा खुसीयाली साटासाट गरेका छन् । जिल्ला सदरमुकाम मुसीकोट खलंगामा द्वन्द्वपीडित महिलाहरुबीच सद्भावका लागि तीज विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेर नाचगान गर्दै उनीहरुले रमाईलो गरेका हुन् । द्वन्द्वपीडित तथा एकल महिलाहरुले आफ्ना पीडाहरुलाई लुकाउँदै यस्ता सार्वजनिक कार्यक्रममा प्रायः सहभागी नहुने परम्परालाई अन्त्य गर्दै सामाजिक रुपान्तरणका लागि अग्रसर बनाउनका लागि हरप्लेस नेपाल र संक्रमणकालीन न्याय तथा शान्ति मञ्चले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् ।

द्वन्द्वपीडित तथा एकल महिलाहरुका लागि यस्ता कार्यक्रमले आपसमा भेटघाट हुने, सुख–दुःख साट्ने अवसर मिल्ने गरेको मञ्चका संयोजक विष्णु देवकोटाले जानकारी दिनुभयो । जिल्लाका द्वन्द्वपीडितको न्यायको लागि वकालत गर्न पीडितकै संलग्नतामा गठन गरिएको उक्त मञ्च क्रियाशिल रहेको छ । सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भएको लामो समय वितिसक्दा समेत आफूहरुले न्याय पाउन नसकेको भन्दै त्यसका लागि राज्यले चासो दिनुपर्ने द्वन्द्वपीडित महिलाहरुको भनाई छ । कार्यक्रममा गीत र नाचमार्फत महिलाहरुले आफ्ना पीडा, मर्म र भावलाई प्रस्फुटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं कर्णाली प्रदेशसभा सदस्य देवी ओलीले यस्ता कार्यक्रमले द्वन्द्वपीडितहरुको बीचमा आत्मीयता साट्न र सद्भाव कायम गर्न मद्दत पुग्ने बताउनुभयो ।

उहाँले तीजलाई भड्किलो नबनाएर सामान्य तरिकाले मनाउन सबैलाई आग्रह गर्नुभयो । त्यस्तै प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य आशा स्वर्णकारले एकल महिला र द्वन्द्वपीडितहरु पीडा लुकाएर नबस्न आग्रह गर्दै तीजको शुभकामना व्यक्त गर्नुभयो । तीजले पछाडि पारिएका महिलाहरुको उत्थानका लागि सकारात्मक सन्देश दिनुपर्ने उहाँले बताउनुभयो । मुसिकोट नगरपालिका उपप्रमुख प्रेमकुमारी सुनार केसीले तीजलाई धार्मिक पुरातन सोचभन्दा माथि उठेर प्रगतिशील तरिकाले मनाउनुपर्नेमा जोड दिनुभयो । तीजका कारण महिलाको शोषण नभई विद्रोह गर्ने र शोषणबाट मुक्ति पाउनेतर्फ उन्मुख हुनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा महिला सांसदद्वय, मुसिकोट नगरपालिका उपप्रमुख लगायत जनप्रतिनिधि, द्वन्द्वपीडित महिलाहरुले सामुहिक रुपमा नाचगान गरेर रमाईलो गरेका थिए । आफ्नो संस्थाले द्वन्द्वपीडितको पक्षमा वकालत गर्दै आएको र आगामी दिनमा पनि यसरी तत्कालीन राज्य र विद्रोही दुवै पक्षबाट पीडितलाई एक ठाउँमा ल्याएर विभिन्न कार्यत्रम सञ्चालन गरिने हरप्लेस नेपालका उपाध्यक्ष सुनिता बुढामगरले बताउनुभयो । कार्यक्रममा जिल्लाका करिब ५० जना द्वन्द्वपीडित महिलाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्