चौथो राष्ट्रव्यापी खुल्ला मुक्तक प्रतियोगितामा काठमाडौँका गफाडी पहिलो



नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा आयोजना भएको चौथो राष्ट्रव्यापी खुल्ला मुक्तक प्रतियोगितामा काठमाडौँका प्रकाश बस्नेत गफाडी पहिलो हुनु भयो । लमजुङको पहिलो पत्रिका अन्तरङ्गले आफ्नो २७औँ वार्षिकोत्सवका अवसरमा सो प्रतियोगिताको आयोजना गरेको हो ।
कुल ११६ जनाले भाग लिएको सो प्रतियोगितामा सन्तोष अम्गाई गोर्खा दोस्रो, मदन घिमिरे कास्की तेस्रो भए भने प्रकाश समिर बाग्लुङ र राधा पाण्डे गान्तोक सिक्किमले सान्त्वना स्थान हासिल गरेको निर्णायक रमेशचन्द्र घिमिरेले बताउनु भयो । उहाँका अनुसार टप टेनमा पर्नेहरूमा कृष्णा भण्डारी कँडेल पाल्पा, गंगा ढकाल रुपन्देही, देवीमाया बास्कोटा पाँचथर, एस.पि. असफल स्याङ्जा र दिनेश पुन रुकुम हुनुहुन्छ ।

विजयी प्रतियोगीहरूलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सांसद धनञ्जय दवाडी, विशेष अतिथि त्रय संविधान सभा सदस्य जमिन्द्रमान घले, बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संयुक्त रूपमा पुरस्कार र प्रमाणपत्र तथा मायाको चिनो वितरण गर्नु भएको थियो ।
विजयी हुनेहरूलार्ई पुरस्कार स्वरुप पहिलोलाई नगद १२ हजार, दोस्रोलाई ८ हजार तेस्रोलाई ५ हजार र सान्त्वना स्थान हासिल गर्ने २ जनालाई ३÷३ हजार नगद, मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रमकी अध्यक्ष लमजुङ रत्नकी प्रकाशक सुधा ढकाल पहाडीले बताउनु भयो ।

उक्त कार्यक्रममा प्रतियोगितामा प्राप्त मुक्तकहरूको संग्रह अनुपम– २ को विमोचन गर्नु का साथै मुक्तकका स्थापित स्रष्टा द्वय गौरी तमु पोखरा र लोकेन्द्र डहरे सिन्धुलीलाई अन्तरङ्ग मुक्तक उत्सव राष्ट्रिय सम्मान– २०७५ बाट सम्मान गरिएको थियो ।
उक्त अवसरमा अन्तरङ्ग मुक्तक उत्सव राष्ट्रिय सम्मान– २०७५ बाट लोककला संस्कृति तथा साहित्यका क्षेत्रका अभियन्ताहरूका साथमा समाजसेवीहरूलाई सम्मान गरिएको थियो । त्यसरी सम्मानित हुने साहित्यकाहरूमा पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष गोर्खे साइँलो, ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङका संरक्षक बुद्धिमान दुरा धम्पु, उहाँको गायन जोडी सीता दुरा, नाट्य, कलाकर्मी एवम् साहित्यकार पुरु लम्साल, मकैडाँडा साहित्य समाजका अध्यक्ष ईन्द्रबहादुर सुयल हुनुहुन्छ ।

यसैगरी, बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, समाजसेवीहरू सानुमाया गुरुङ, डिकेन्द्र कँडेल, राजेन्द्र बोहरा, रामबाबु श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ, महेन्द्रराज वाग्ले, प्रधानाध्यापक नानुमाया पराजुली, महिला उद्यमी पार्वती श्रेष्ठ, ई प्रविधि विज्ञ सञ्जोग लामिछानेलाई पनि अन्तरङ्ग मुक्तक उत्सव राष्ट्रिय सम्मान– २०७५ बाट सम्मान गरिएको थियो ।
त्यसैगरी, अन्तरङ्ग र लमजुङ रत्नका विचार तथा स्तम्भ लेखकहरू दामोदर अधिकारी, केवि मसाल, तीर्थराज पराजुली, विनोद न्यौपाने, केयरसिंह गुरुङका साथै संवाददाताहरू बेलबहादुर न्यौपाने, अधीर अधिकारी पनि सम्मानित भएका थिए ।
यसैगरी, अन्तरङ्गको बालकाविता स्तम्भमा कविता प्रकाशन गरी सर्वोत्कृष्ठ हुने बुद्धमेमोरियल आमाविकी युनिका रावतलाई पुरस्कृत गरिएको थियो ।

सो अवसरमा प्रदेश सभा सदस्य दवाडीले लेख्ने विधा घाटाको भए पनि लेख्नुको विकल्प छैन भन्नुभयो । उहाँले साहित्यले मनलाई जोड्ने र तोड्ने काम पनि गर्ने सामर्थ राख्छ भन्नुहुँदै फ्रेन्च, जर्मन तथा भारत र पाकिस्तानको उदाहरण दिनुभयो । उहाँले साहित्यकारलाई दलको झण्डा नबोक्न समेत आग्रह गर्दै सिर्जनशील लेखन गर्नु आग्रह गर्नु भयो । पूर्वसांसद जमिन्द्रमान घलेले लमजुङको चिनारीका लागि आयोजित कार्यक्रम कोशेढुंगा हुने बताउनु भयो । उहाँले कार्यक्रमको आयोजना गर्दा समयको महत्व बुझ्नका लागि आयोजक र सहभागी सबैको ध्यानाकर्षण गर्नु भएको थियो ।

यसैगरी स्वतन्त्र पत्रकार संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले कार्यक्रम स्थलमा बस्दाबस्दै रचना गर्नु भएका दुई मुक्तक वाचन गर्दै साहित्यकारहरूले समाजलाई सचेत र चेनतशील बताउनु महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नु भयो ।
यसैगरी, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले स्थानीय तहमा साहित्यका क्षेत्रमा के गर्न सकिन्छ भनेर आफूहरू बहसमै रहेको र यस्ता कार्यक्रम वा संस्थासँग सहकार्य गर्ने बताउनु भयो ।

साहित्यकार गोर्खे साइँलो, लोकगायक धम्पु दुरा सहितले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गर्नु भएको कार्यक्रम लमजुङ रत्नका प्रकाशन सुधा ढकाल पहाडीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन नवराज पहाडकी र लालुमाया गुरुङले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्