टिपर आतंक बन्द होस्



काठमाडौं उपत्यकासहित देशभरका राजमार्गमा टिपर आतंक बढेको बढ्यै छ । अधिकांश दुर्घटना टिपरकै कारण भइरहेका छन् । राजधानीमा मात्रै सडक दुर्घटनाबाट दैनिक औसत ५ जनाको मृत्यु तथा ३१ जना घाइते हुने गरेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

दुर्घटनाको मुख्य कारक नै टिपर देखिएको छ । केही समययता टिपर आतंकको अर्को विशेषण बनिसकेको छ । सडकमा यात्रारत जोसुकै पनि टिपर आतंकबाट बेखबर छैनन् । एक÷दुईपटकको घटनालाई दुर्घटना मान्न सकिन्छ । तर, पटक–पटक दोहोरिइरहने घटनालाई दुर्घटना होइन, आतंक नै मान्नुपर्ने हुन्छ । उसो त टिपर ज्यानमारा बनेपछि विभिन्न जिल्लामा ट्राफिक प्रहरीले टाइमकार्ड लागू गरेर गति नियन्त्रण गर्ने प्रयास नगरेका होइनन् । पटक–पटकको खबरदारीपश्चात् पनि टिपर आतंक नरोकिनु लापरबाहीकै पराकाष्ठा हो ।

टिपरको ठक्करबाट ज्यान गुमाउनेको संख्या बढ्दै गए पनि सम्बन्धित निकायले यस्तो भयानक घटनाक्रमलाई नियन्त्रण गर्न तदारुकता देखाएको छैन । पछिल्लो समय टिपर चालक ज्यानमारा बन्दै गएको अनुभूति गरिएको छ ।

ट्राफिक नियमको पालना नगर्ने, लेन अनुशासन नटेर्ने, साना सवारीसाधनलाई साइड नछाड्ने, बढी कमाउने लोभमा धेरै ट्रिप ओसार्न होडबाजी गर्ने प्रवृत्तिका कारण टिपर चालकले ज्यानमाराको उपाधि पाएका छन् । सर्वसाधारण, पैदलयात्री, साना सवारीसाधनमा हिँड्ने मानिसको ज्यानको ख्यालै नगरी अन्धाधुन्ध सवारी हाँक्ने प्रवृत्तिलाई दुर्घटना भनेर परिभाषित गर्नु अन्याय हुन्छ ।

चालकको लापरबाहीबाट अनाहकमा मानिसले ज्यान गुमाइरहेका छन् । सम्भावित दुर्घटनाको पर्वाह नगरी टिपर हाँक्नेहरु अपरिपक्व र गैरजिम्मेवार हुनुको कारण कम उमेर र मापदण्ड पूरा नगरी चालक बन्नु नै हो । अनुभवहीन र आलाकाँचा चालकहरुकै कारण यस्ता घटना बढी भइरहेकोमा द्विविधा छैन । अनुभवी र दक्ष व्यक्तिलाई मात्रै टिपर चलाउन दिइनुपर्छ । निश्चित शैक्षिक योग्यताका साथै संयम, संवेदनशील र परिपक्व चालकलाई मात्रै टिपर चलाउने अनुमति दिनसके दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।

ट्राफिक प्रहरीले बेला–बेलामा चालकलाई सचेतना कक्षा सञ्चालन गरे पनि प्रभावकारी देखिएको छैन । दिनहुँजसो टिपरले ठक्कर दिएर मानिसको ज्यान जाने शृङ्खला बढेपछि यातायात व्यवस्था विभागले उपत्यकामा दिउँसो टिपर गुड्न प्रतिबन्ध लगायो । तर, गति र दुर्घटना दुवैमा कमी आउन सकेन । चालक अदक्ष भयो भने उसले टिपरै चलाउनु पर्दैन, जुन सवारी चलाए पनि दुर्घटना हुने निश्चित छ । लापरबाही गरेर यात्रुको ज्यान लिने चालकलाई कानुनबमोजिम कारबाही हुनुपर्छ ।

सवारी ऐनमा ज्यान मार्ने मनसायका साथ दुर्घटना गराउने चालकलाई सर्वस्वसहित जन्मकैदको कडा व्यवस्था गरिएको पाइन्छ । तर, ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिएर चालकलाई एक वर्ष कैद र दुई हजार जरिबानाको व्यवस्थाअन्तर्गत मुद्दा चलाएर उन्मुक्ति दिइन्छ ।

कानुनको पालना गराउने निकायकै लापरबाहीका कारण ज्यानमारा चालकले प्रश्रय पाइरहेका छन् । मानिसको ज्यान जाने घटनामा चालक मात्रै होइन, कानुनको पालना गराउन नसक्ने राज्य संयन्त्र पनि उत्तिकै जिम्मेवार देखिएको छ । टिपर आतंकबाट जनता आजित भइसक्दा पनि राज्य मौन रहनु अर्को दुःखान्त हो । सरकारले टिपर आतंक नियन्त्रण गर्न हस्तक्षेपकारी भूमिका प्रदर्शन गर्नु अति जरुरी भइसकेको छ ।
– कुमार बन्जाडे, कोहलपुर, हाल: बल्खु ।

प्रतिक्रिया दिनुहोस्