पुरस्कार पाउने कर्मचारी भेटिएन



सुनील महर्जन, काठमाडौं
योग्य कर्मचारी नभएको भन्दै सरकारले यस वर्ष पनि सर्वोेत्कृष्ट निजामती कर्मचारी छनोट गर्न सकेन ।

सरकारले हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसका रुपमा मनाउने गरेको छ । र, दिवसका अवसरमा एक जना सर्वाेत्कृष्ट कर्मचारीसहित ४२ जनालाई पुरस्कृत गर्दै आएको छ ।

तर अघिल्ला वर्ष जस्तै सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । दुई वर्षअघि तत्कालीन अर्थ सचिव शान्तराज सुवेदीलाई सर्वोकृष्ट निजामती सेवा पुरस्कार दिएयता कुनै पनि कर्मचारीलाई सो पुरस्कार दिइएको छैन ।

पुरस्कार किन नदिइएको भन्ने प्रश्नको जिज्ञासामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भन्नुभयो– ‘यो पुरस्कार भनेको सधैंभरि दिने त होइन । पुरस्कार दिनका लागि देखिने काम गरेको कर्मचारी पनि हुनुप¥यो ।’

संघीयता कार्यान्वयनको चरणमा कर्मचारी समायोजनदेखि कार्यसम्पादन समेतलाई सरकारका मन्त्रीहरु निकै असन्तुष्टि रहेको सन्दर्भमा यसपटक उत्कृष्ट कर्मचारी छनोट गर्न कसैले उत्साह देखाएको थिएन । यसअघिको कार्यकालमा सामान्य प्रशासनमन्त्री बनेको सबैको स्याबासी पाउन सफल लालबाबु पण्डितले पनि कर्मचारी समायोजनमा जटिलताले गर्दा कर्मचारी संयन्त्र असन्तुष्टि पोख्दै आउनुभएको छ ।

‘यो पुरस्कार कसलाई दिने भन्नेमा मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरु, मन्त्रीहरुको फरकफरक मत रहेको छ । जसलाई छनोट गरे पनि निर्विवाद बन्न नसक्ने अवस्थामा पनि रहेको छ । यसले गर्दा पुरस्कार दिन कसैले जाँगर देखाएन’ –मन्त्रालयका एक उच्च अधिकारीले भन्नुभयो ।

त्यसैले बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २ लाख रुपियाँ राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि भने कुनै पनि कर्मचारी छनोट गरेन । बैठकले १० जनालाई उत्कृष्ट निजामती पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिने निर्णय गरेको थियो । १० जनालाई दिइने उत्कृष्ट निजामती सेवा पुरस्कारको राशि १ लाख र ३० जनालाई दिइने निजामती सेवा पुरस्कारको राशि ५० हजार रुपियाँ छ ।

‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने नारासहित यो वर्ष निजामती सेवा दिवस मनाइएको हो । दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबारको कार्यक्रममा यस वर्ष र गत वर्ष सम्मानका लागि छनोट भएका निजामती कर्मचारीहरुलाई सँगै सम्मान गरियो । गत वर्ष तराई–मधेसमा बाढी र डुबानको विपत्ति आएपछि निजामती सेवा पुरस्कार वितरण समारोह आयोजना गरिएको थिएन ।

गत वर्ष सरकारले दीपक सुवेदी, डिल्लीराज घिमिरे, केवलप्रसाद भण्डारी, प्रेमलाल लामिछाने, इन्द्रप्रसाद आचार्य, जीवनप्रसाद सेढाईं, जगन्नाथ बराल, लक्ष्मीदत्त कलौनी, प्रल्हादकुमार योगी र अनिल खनाललाई जनही १ लाख रुपियाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो ।

सो अवसरमा प्रधानमन्त्री केपी ओलीले खर्च कम र काम दोब्बर गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले काम नगर्ने तर अधिकार प्राप्तिको नाममा आन्दोलन गर्ने कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी पनि दिनुभयो ।

उहाँले राष्ट्र निर्माण गर्ने संकल्प पूरा हुने गरी दोब्बर काम गरेर उत्पादनलाई पनि दोब्बर वृद्धि गर्ने दायित्व पूरा गर्न कर्मचारीलाई सचेत गराउनुभयो । मुलुकमा संख्यात्मक हिसाबले कर्मचारीको अभाव नभएको उहाँले बताउनुभयो । विषयगत कर्मचारीको अभाव भएको भने स्वीकार गर्दै उहाँले त्यसलाई पूर्ति गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्