सूर्यको घाम प्रकाशित



काठमाडौं । कवि सूर्यप्रसाद लाकोजूको कवितासंग्रह मेरो घामको लोकार्पण भएको छ । वरिष्ठ साहित्यकार सरुभक्तले काठमाडौंमा एक कार्यक्रमबीच उक्त कविता संग्रहको विमोचन गरेका थिए । मोफसलमा रहेर नेपाली भाषा र साहित्यको सेवा गर्दै आएका लाकोजूको यो अठारांै कृति हो ।

आमा कविताबाट शुरु भएको कवितासङ्ग्रहमा देशप्रेम, राजनैतिक बेथिति, सामाजिक विकृति, प्रेमप्रणय, मानवीय संवेगहरू आदिजस्ता विषयहरू समेटिएका छन् । आफूभन्दा ठूलालाई सम्मान र सानालाई प्रोत्साहन दिने विषयका कविताहरु पनि रहेका छन् । विविध शीर्षकका ५३ वटा कविताहरू सङ्ग्रहित रहेको कविता सङ्ग्रह पितामा गएर टुङ्गिएको छ ।

साहित्यकार लाकोजूको यो कवितासङ्ग्रहभन्दा अगाडि भावनाका पूmलहरु (मुक्तकसङ्ग्रह), फूलहरुको मेला (मुक्तकसङ्ग्रह), शाश्वत स्वरहरु (मुक्तकसङ्ग्रह), स्पर्श (कवितासङ्ग्रह),.मेरो मन मेरो मीत (कवितासङ्ग्रह), पनौती, पनौतीको बाह्रवर्षे मकरमेला, स्मृतिका आलेखहरु, प्रेरणाको चौतारी (प्रेरकप्रङ्ग), गुराँस फुल्ने मन (हाइकुसङ्ग्रह), कोपिला (बालकवितासङ्ग्रह), केही काभ्रेली अक्षरकर्मीहरु–१, घामको चुम्बन (कवितासङ्ग्रह), अक्षरका स्वरहरु (हाइकुसङ्ग्रह), सुसेली (गीतसङ्ग्रह), यःमरी (बालपरिचय पुस्तक), घाम उदायो (बालकवितासङ्ग्रह) जस्ता कृतिहरु प्रकाशित छन् ।

लामो समयदेखि नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका सूर्य लाकोजूको यो कवितासङ्ग्रह अनुज बुक इन्टरप्राइजेज काठमाडौंले प्रकाशित गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्