व्यावसायिक कृषिमा समय दिने कि ?



नेपाली कृषि क्षेत्रमा पछिल्लो समयलाई मात्र मूल्यांकन गर्ने हो भने पनि व्यावसायिक कृषि गर्नेको लहर अलि–अलि चल्न थालेको छ । हरेकको जिब्रोमा कृषिक्षेत्र जोडिनुलाई कृषिको विकासका लागि थपिएको ऊर्जा मान्न सकिएला । युवापुस्ताहरु अन्य व्यवसायभन्दा कृषि नै ठीक हो भन्न थालेका छन् र त कृषिमा लगानी गर्नेहरुको भीड थपिन थालेको छ । कृषिमा लगानी थपिनु ठीक हो । हिजोसम्म अनपढहरुले मात्र कृषि पेसा अंगाल्छन् भन्नेहरु आज शिक्षित भएर कृषि पेसामा लगानी गर्दा मुलुकको आर्थिक मेरुदण्डको एउटा हिस्सा कृषिक्षेत्र विकासको फड्को मार्ने तयारी गरिरहेको छ ।

कृषि क्षेत्रको विकासका लागि लगानी थपिनु वा युवापुस्तालगायत अन्य वर्ग र क्षेत्रका व्यक्तिहरु पनि यसतर्फ आकर्षित हुनु गौरवको कुरा हो तर कृषिक्षेत्रमा सरकारले दिन थालेको अनुदान झ्वाम्म पार्ने सोचमा कृषिमा आकर्षित भएको हो भने त्यसले मुलुकका लागि दूरगामी असर पार्ने देखिन्छ । पछिल्लो समयमा परम्परागत कृषिक्षेत्रमा लाग्नेहरु मात्र होइन, सामाजिक संघसंस्था, सहकारी, निजी क्षेत्रहरुसमेत कृषिमा होमिएका देखिनुले मुलुकमा खाद्य सुरक्षाका लागि भएको पहल हो भनेर सकारात्मक सोच लिनेहरुले भनिरहेको छन् भने अर्का थरी सरकारी होस् वा दातृ निकायहरुको बजेट सक्ने काम मात्र गर्न कृषिमा होमिएको बताउन थालेका छन् ।

यद्यपि सरकारले विभिन्न आयोजनाहरुमार्फत कृषिको व्यवसायीकरणमा पहल गरिरहेको भए पनि त्यसलाई दीर्घकालीन विकासका लागि खासै ठोस पहल गरिएको देखिँदैन ।

सरकारी निकाय होस् वा गैरसरकारी निकायहरुमार्फत सञ्चालनमा आएका कृषि आयोजनाहरुले वास्तविक किसानहरुको जीवनस्तर सुधार्नेतर्फ काम गरिरहेका छैनन् छैन भन्दा फरक नपर्ला ? यद्यपि अन्य पेसा अंगाल्नेहरुले पनि कृषिक्षेत्रमा लगानी गरेर अनुदानमा आँखा गाड्ने काम गरिरहेको पनि देखिन्छ ।

अनुदानको रकममा आँखा गाड्नेभन्दा पनि व्यावसायिक कृषि शुरुवात गरेर त्यसलाई बजारीकरण गर्न सक्ने हो भने मात्र नेपाली कृषिक्षेत्रले विकासको काँचुली फेर्ला, नत्र जुन जोगी आए पनि कानै चिरेका भनेजस्तो नहोला भन्न सकिँदैन । कृषिउपजको उत्पादन बढाउने र त्यसलाई बजारीकरण गर्नतर्फ खासै ध्यान दिएको पनि पाइँदैन ।

त्यसकारण यतिखेर कृषिमा लगानी गर्न खोज्नेहरु वा गरिरहेकाहरुले किसानलाई उत्पादन बढाउन प्रोत्साहित गर्ने काममा लगानी गर्नु आवश्यक छ । साथै उत्पादित कृषिउपजको बजारीकरणको अभाव भएका कारण व्यवस्थित बजारीकरणतर्फ ध्यान दिन सक्ने हो भने व्यावसायिक कृषिले सार्थकता पाउँथ्यो कि ?
– सरस्वती सुनार, खोटाङ । हाल ः नैकाप, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्