दर खाँदा विचार पु¥याऔं



 

नेपाली महिलाको महान् पर्व हरितालिका तीज नजिकिएसँगै यति बेला विभिन्न संघसंस्था तथा समूहहरुले भेला हुने र दर खुवाउने कार्यक्रमको आयोजना गर्ने क्रम बढ्दै गएको छ । वर्षात्पछिको मिलन र समूह तथा संगठनहरुको वार्षिक कार्यक्रमलाई समेत एकैठाउँमा राखेर दर खुवाउने र आपसी भावना आदानप्रदान गर्ने कार्य आफैंमा सकारात्मक कुरा हो । दर खाने कार्यक्रम जुन उद्देश्यको लागि आयोजना हुने गरेका छन् ती कार्यक्रमहरु सम्बन्धित विषयभन्दा विकृत हुँदै गएका घटनाहरु पनि सार्वजनिक भैरहेका छन् ।

पछिल्लो समय दर खाने बहानामा गहना तथा कपडा प्रदर्शनले बढी प्राथमिकता पाएको देखिन्छ । तीज पर्व आफैं नारी वेदनासँग जोडिएको पर्व हो । वर्षभरि जन्मघर र कर्मघरको बीचको फरकलाई एक–आपसमा जम्मा भएर वेदनाको साटासाट गर्ने पर्वका रुपमा परापूर्वकालदेखि चल्दै आएको चलनलाई नयाँ पुस्ताले परिमार्जन गर्ने बहानामा पूरै अव्यावहारिक पर्वको रुपमा मनाउन थालिसकेका छन् ।

अश्लील पश्चिमा गीतहरुको मञ्चन, तडकभडक, क्षमता र सम्पत्तिको प्रदर्शन गर्ने पर्वका रुपमा विकास भैरहेको यो पर्वको महत्वलाई जोगाउनु हाम्रो कर्तव्य हो । पुराना पुस्तालाई पछ्याउने रुचि नयाँ पुस्तामा छैन । पुराना चालचलन र रीतिरिवाजलाई नयाँ पुस्ताले पछ्याने चाहना राख्दैन । त्यही कारणले नै तीजजस्तो पर्वमा समेत प्रभाव देखिएको छ । तीजलाई प्रयोग गरेर देखाइने तडकभडकका कारण एकातर्फ कमजोर आर्थिक अवस्था भएकाहरुको यो पर्वप्रति वितृष्णा पलाउँदै गएको छ भने अर्कोतर्फ यो पर्व मनाउने हुनेखानेहरुको तडकभडक बेकामी चिजहरुमा खर्च गराइरहेको छ ।

दर खाने बहानामा तीज आउनुभन्दा एक महिनाअगाडिबाट नै शुरु हुने दर खाने कार्यक्रमले गर्ने समयको बर्बादी अर्को पक्ष हो । पर्व मनाउँदा हुनेखाने र हुँदा खानेबीचको खाडल गहिरिँदै जानु भनेको हाम्रो संस्कृतिभित्रको विकृत रुप हो चाडपर्व मनाउँदा देखाइने तडकभडक त्यागौं र असीमितरुपमा खर्च हुने सम्पत्तिलाई आयमूलक क्षेत्रमा खर्च गर्ने गरौं ।

 

समूह र संगठनले तीजको बहानामा दर खाने कार्यक्रम आयोजना गरेर खर्चेको रकम, समय र जनशक्तिको हिसाबकिताब गरी त्यसलाई मितव्ययी र पारदर्शी बनाउँदै त्यस्ता कार्यमा खर्च हुने रकमबाट समूह तथा संगठनका सदस्यहरुको क्षमता विकासमा खर्च गर्ने अनि आयमूलक सीप सिकाउने काममा लागौं । चाडपर्व मनाउने करले हैन, रहरले मनाइनुपर्छ । रहरले मनाइने चाडपर्वमा सबैको अपनत्व हुने र सबैको मन खुशी रहने वातावरण निर्माण गरौं । चाडलाई सभ्य तरिकाले मनाउन सिकौं ।
– सुरेश कार्की काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्