पाकिस्तानको नयाँ राष्ट्रपतिमा अल्वी



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानमा मंगलबार सम्पन्न राष्ट्रपति चुनावमा प्रधानमन्त्री इमरान खानकको पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीका संस्थापक सदस्य मध्यका एक डाक्टर आरिफ अल्वी निर्वाचित भएका छन् ।

अल्वीले पाकिस्तान पिपुल्स पार्टीका उम्मेदवार पेतजाज अहसन र पाकिस्तान मुस्लिम लिग एनका उम्मेदवार मौलाना फजल उर रहमानलाई त्रिकोणिय प्रतिस्पर्धामा परास्त गरेका हुन् । उनी देशको १३ औं राष्टपति बनेका छन् ।

नेसनल असेम्बली र सिनेटमा भएको मतदानमा कुल ४ सय ३० मतमा अल्वीले २ सय १२ भोट हासिल गरेको डन न्युजले जनाएको छ । उनका निकतम प्रतिद्वन्द्वि रहमानले १ सय ३१ र अहसनले ८१ मत प्राप्त गरेका थिए ।

६ वटा मत बदर भएका थिए । बलुचिस्तानको नव निर्वाचित सांसदहरुले खसालेको ६० मतमा ४५ मत अल्वीले प्राप्त गरेको अखबारले जनाएको छ । पीपीपीको प्रभाव रहेको सिन्ध विधानसभामा अहसनले १ सय भोट र अल्वीको ५६ मत हासिल गरेका थिए ।

खैबर पख्तुनख्वा विधानसभामा अल्वीले कुल १ सय ९ मा ७८ भोट प्राप्त गरेको छ । रहमान र अहसनले क्रममा २६ र ५ भोट प्राप्त गरेका थिए । निवर्तमान राष्ट्रपनि ममनुन हुसैनको कार्यकाल आठ सेप्टेम्बरमा समाप्त हुँदैछ । पेशाले दन्तचिकित्सक ६९ बर्षिय अल्वी पीटीआइका संस्थापक सदस्य मध्यका एक हुन् ।

प्रतिक्रिया दिनुहोस्