पतिका लागि फिल्म छोडिन् ऐश्वर्याले



यतिबेला बलिउड नायिका ऐश्वर्या राय बच्चन घर परिवार तथा करिअरबीच सन्तुलन मिलाएर हिँडिरहेकी छिन्। त्यस कारण उनले धेरै फिल्ममा काम गरिरहेकी छैनन्।

जबकि उनलाई लिएर फिल्म बनाउन चाहने निर्माता निर्देशक धेरै नै छन्। उनलाई लिएर फिल्म बनाउन चाहने एक निर्देशक हुन् सञ्जय लीला भंसाली। ऐश्वर्या र सञ्जयबीच राम्रँे ट्युनिङ रहेको छ। ऐश्वर्यालाई लिएर भंसालीले हम दिल दि चुके सनम, देवदास तथा गुजारिसजस्ता फिल्म बनाएका छन्। यी फिल्म नै ऐश्वर्याको जीवनका सफल फिल्म हुन्, तर भारतीय सञ्चार माध्यमका अनुसार हालै ऐश्वर्याले आफूलाई सफलताको स्वाद चखाउने सञ्जयको फिल्ममा काम गर्न अस्वीकार गरेकी छिन्।

लामो समयदेखि सञ्जय ऐश्वर्यालाई लिएर फिल्म निर्माण गर्न चाहन्थे, तर ऐश्वर्याले उनको फिल्म अस्वीकार गरेपछि उनीमाथि ठूलो झट्का लागेको छ। ऐश्वर्याले नायक पति अभिषेकका कारण सञ्जयको फिल्म अस्वीकार गरेकी हुन्। वास्तवमा ऐश्वर्याले पति अभिषेकको साथ फिल्म गुलाब जामुनमा काम गर्दै छिन्। उक्त फिल्म वास्तविक पति पत्नीले खेल्दा विशेष हुने भएकाले फिल्मका निर्देशकले उनीहरूलाई लिएका हुन्। यसैबीच उनलाई सञ्जयको फिल्मको प्रस्ताव आयो। दुवै फिल्मको सुटिङ पनि एकै समयमा हुने भएपछि उनले आफ्ना लागि गुलाब जामुनभन्दा सञ्जयको फिल्म राम्रो हुने भए पनि काम गर्न मानिनन्। किनकि फिल्म गुलाब जामुनबाट उनलाई पतिको गिर्दो करिअरले गति लिने आशा छ।

प्रतिक्रिया दिनुहोस्