चार दिनदेखि देशैभरि फैलियो, फ्लु परीक्षण टेकुमा मात्र ?



भगवती तिमल्सिना
ही दिनदेखि काठमाडौंमा मनसुनसँगै देखा पर्ने एचवान एनवान ए र बी इन्फ्लुएन्जाजस्तो देखिने रुघाखोकी सरुवा रोगको रूपमा देखापरेको छ। यो समस्या ४ दिनदेखि व्यापक मात्रामा फैलिएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ।
सन् २००९ मा एचवान एनवान (स्वाइनफ्लु) का नामले चिनिएको इन्फ्लुएन्जा हरेक वर्ष नेपालमा पनि त्रास लिएर फैलने गरेको छ। यो रोग देख्दा सामान्य रुघाखोकीजस्तो देखिए पनि समयमै ध्यान दिन नसक्दा कतिपयको ज्यानसमेत गएको छ। यो समस्यालाई लिएर सन् २००३ देखि २०१४ सम्म विश्व स्वास्थ्य संगठनले इन्फ्लुएन्जा (स्वाइनफ्लु) महामारीका रूपमा फैलिएको र सबै मुलुकले सचेत हुन आ≈वानसमेत गरेका थिए।
महामारी घोषणा गरिरहँदा विश्वमा त्रासको स्थिति सिर्जना भयो भनी सबै मुलुकको आग्रहलाई स्वीकार्दै विश्व स्वास्थ्य संगठनले पान्डेमिक अर्थात् सिजनल फ्लुका रूपमा परिणत भएको घोषणा गरेको थियो। सन् २००९ मा नेपालका लागि स्वाइनफ्लु नयाँ थियो र पान्डेमिकको तहमा थियो। यो रोग सन् २००३ देखि २०१४ सम्मको अवस्था नेपालका लागि उच्च जोखिम भएको भन्दै उच्च सतर्कता अपनाउनका लागि विदेशबाट आउने यात्रुको स्वास्थ्य परीक्षण एयरपोर्टलगायतका नाकामा समेत गरिएको थियो।
कसरी जोगिने?
इन्फ्लुएन्जाबाट जोगिनका लागि संक्रमित व्यक्तिबाट टाढै रहने र समस्या देखा परेमा भीडभाडमा नजाने, मुखमा माक्स लगाउने, हात सफासँग साबुन पानीले धुने, हात नमिलाउने, हाच्छयँु गर्दा रुमालले नाक मुख छोप्ने गर्नुपर्छ।
यदि सरुवा खालको इन्फ्लुएन्जा अर्थात् पातलो सिँगान तुर–तुर बगिरहने, जीउ गल्ने, टाउको दुख्ने, जोर्नी दुख्ने, १ सय २ भन्दामाथि ज्वरो आउने, छाती दुख्ने, पातलो दिसा लाग्नेजस्ता संकेत देखिएको खण्डमा बिरामीले तत्काल रगत र ¥याल परीक्षण गराउनुपर्छ। यस्तो समस्या भएका व्यक्तिले ध्यान दिएर ठूलो भीडभाडमा नजाने, जानै परे पनि माक्स लगाएर १ मिटरको दूरी कायम गर्ने र झोल पदार्थ बढी खानुपर्ने कुरामा डा. पुनले जोड दिनुभयो। सन् २००९ देखि २०१४ (स्वाइनफ्लु)  एचवान एनवान नेपालमा मात्र नभई अमेरिकामा पनि फैलिएको थियो।
सन् २०१५ मा राष्ट्रिय प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टअनुसार सबैभन्दा बढी स्वाइनफ्लुबाट नेपालमा सन् २०१४ मा धेरै मानिस प्रभावित भएका थिए। त्यतिबेला १ हजार १ सय ६३ जना प्रभावित भएका र १८ जनाको मृत्यु भएको थियो भने सन् २०१५ फेब्रुअरीमा देखापरेको स्वाइनफ्लुका कारण १ जनाको मृत्यु हुनुका साथै ६१ जना प्रभावित भएका थिए। सन् २०१५ पछि पनि वर्षमा २ पटक सिजनल फ्लुका नामले सम्बोधन गरिँदैआएको कडाखालको रुघाखोकी लाग्ने र धेरै मानिस एकैपटक बिरामी पर्ने गरेका घटना सुनिँदै र छिट्फुट मृत्युका घटना पनि ढिलो गरी सरकारले सार्वजनिक गर्ने गरेको छ। रुघाखोकीको प्रकोप काठमाडौंमा प्रायः मनसुनमा फोहोर, तथा वातावरणीय प्रदूषणसँगै देखिने गर्दछ, यो वर्ष भर्खरै देखिएको छ। विशेष गरी इन्फ्लुएन्जाको समस्या जाडो मौसममा बढी देखिने भए पनि मौसमी फ्लुका रूपमा जुनसुकै बेला देखिन थालेको पनि चिकित्सकहरू बताउँछन्।
इन्फ्लुएन्जाको जोखिम समूह
डा. पुनका अनुसार ६५ वर्षमाथिका, दम, खोकी, नसासम्बन्धी रोग लागेका व्यक्ति, गर्भवती, क्यान्सर, एचआईभी एड्स, लामो समयदेखि दीर्घ रोगका लागि औषधि सेवन गरेका व्यक्ति र ५ वर्षमुनिका बालबालिका बढी रहने गरेका छन्। जोखिम समूहमा पर्ने व्यक्तिले यस्ता समस्या आउँनै नदिन या आइहाले पनि तत्काल चिकित्सकको सल्लाहअनुसार उपचार गरी आफ्नो स्वास्थ्यप्रति निकै ध्यान दिनुपर्छ। बिरामीको चाप केही दिनदेखि बढ्दै गएको र इन्फ्लुएन्जा नै देखिएको पनि हुनसक्छ। ओपीडीमा आउने बिरामीको संख्या र प्रकृति एकैखालको भएको र बढेको छ। सरुवाखालकै रुघाखोकी देखा पर्नु र परिवारका सबैमा समस्या देखिनुले इन्फ्लुएन्जा हुन सक्ने आशंका गरिए पनि ल्याब परीक्षणपश्चात् रिपोर्ट भने आइसकेको अवस्था छैन।
संघीयताले स्वास्थ्य सेवालाई विकेन्द्रीकरण गरे पनि इन्फ्लुएन्जाजस्ता समस्याको पहिचान गर्न ल्याब परीक्षणका लागि भने टेकुमा रहेको केन्द्रीय ल्याबमै निर्भर हुनुपर्ने बाध्यताको अन्त्य तत्कालै सम्भव नभएको पनि स्पष्टै छ। जनस्वास्थ्यलाई राजनैतिक निर्णयले पारेका असरको यो एउटा नमुना मात्र हो।
डा. पुन भन्नुहुन्छ– ‘यतिबेला मनसुन परिवर्तनसँगै वर्षेनी देखापर्ने पानीजन्य रोग झाडापखाला, टाइफाइड बढी मात्रामा देखा परेको छ। अझै केही हप्ता यी समस्या कायम रहन्छ। झाडापखाला, टाइफाइड, सिजनल फ्लु गर्मीयाम शुरू भएदेखि मनसुनभरि फैलिन्छ। पुनः चिसो मौसममा पनि कडाखालको रुघा,खोकी देखिन्छ। यसका साथै गर्मी मौसममा भने कालाजार, जापानिज इन्सेफ्लाइटिस, औलोजस्ता समस्या पनि प्रकोपकै रूपमा देखा पर्दैआएको छ। साथसाथै पछिल्लो समय स्क्रबटाइफसको समस्या पनि बढ्दो क्रममा छ।
जोखिम समूह
-६५ वर्ष भन्दामाथिका वयस्क
-५ वर्षभन्दा कम उमेरका बच्चा
वयस्क र १ वर्षभन्दा कम उमेरका बच्चा जसले लामो समय एस्पिरिन (बफरिन) थेरेपी प्राप्त गर्दैछन्।
-रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता कम भएका व्यक्ति
-गर्भवती महिला
-पुराना रोग जस्तैः दम, हृदय रोग, मधुमेह, एचआईभी एड्स, क्षयरोग लागेका व्यक्ति।
स्वाइनफ्लु, जसलाई एचवान एनवान भाइरस भनिन्छ। यो पहिला सुँगुरबाट मानिसमा सर्ने र मानिसबाट मानिसमा फैलिएको अवस्था इन्फ्लुएन्जा भाइरसको अपेक्षाकृत नयाँ रूप हो। इन्फ्लुएन्जाका लक्षण पनि नियमित फ्लुजस्तै हुन्छ। सन् २००९ अगस्टममा विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेको थियो। यो स्वाइनफ्लुका नामले चिनिन्थ्यो र मानव जातीमा विश्वव्यापीरूपमा महामारीका रूपमा फैलिएको थियो। यो रोग मानिसको श्वासप्रस्वास, सिँगान, खकारबाट फैलने भएकाले एकैपटक धेरै मानिसमा फैलिन्छ। यतिबेला एकै घरका सबै परिवार एउटै खालको समस्या लिएर काठमाडौंका स्वास्थ्य संस्थामा आउनुलाई चिकित्सकले इन्फ्लुएन्जा नै भएको अनुमान लगाई उपचार शुरू गरिसकेको जनाएका छन्।
विश्व स्वास्थ्य संगठनले जुन ११ सन् २००९ मा स्वाइनफ्लु अर्थात् एचवान एनवान भाइरसलाई महामारीको घोषणा गरेको केही समय बित्न नपाउँदै नेपालमा पनि एचवान एनवानका ३ जना बिरामी फेला परेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको थियो। यीमध्ये १ जना गर्भवती महिला भएको र उनको मृत्युसमेत भएको थियो।
डा.पुनका अनुसार ६५ वर्षमाथिका, दम, खोकी, नसासम्बन्धी रोग लागेका व्यक्ति, गर्भवती, क्यान्सर, एचआईभी एड्स, लामो समयदेखि दीर्घरोगका लागि औषधि सेवन गरेका व्यक्ति र ५ वर्षमुनिका बालबालिका बढी रहने गरेका छन्। जोखिम समूहमा पर्ने व्यक्तिले यस्ता समस्या आउनै नदिन या आइहाले पनि तत्काल चिकित्सकको सल्लाहअनुसार उपचार गरी आफ्नो स्वास्थ्यप्रति निकै ध्यान दिनुपर्छ।
जाडो महिनामा बढी फैलने स्वाइनफ्लु अर्थात् एचवान एनवान पान्डेमिकलाई सिजनल फ्लु घोषणा गरिसकिएको छ। यसलाई लाग्नै नदिनका लागि के गर्ने भन्ने बारेमा विश्वसामु चुनौती देखा परेपछि भ्याक्सिन पत्ता लगाइएको थियो। त्यतिबेलै नेपालमा यो भ्याक्सिन विश्व स्वास्थ्य संगठनको सहयोगमा नेपालको जनसंख्याको १० प्रतिशत जोखिम समूहमा रहेकालाई उपलब्ध गराइएको थियो। यो भ्याक्सिन पाउने पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी र महिला स्वयंमसेविका रहेका थिए। त्यसैगरी दोस्रो प्राथमिकतामा गर्भवती महिला, तेस्रोमा क्रोनिक डिजिज भएका व्यक्ति र अन्त्यमा अतिआवश्यकीय क्षेत्र खानेपानी, विद्युत्, टेलिफोनका क्षेत्रमा बढीभन्दा बढी जनसम्पर्कमा रहने व्यक्तिलाई लक्षित गरिएको थियो।
स्वाइनफ्लुका लागि दिइने ‘स्यानेफी पास्चर’ नामक भ्याक्सिन विश्व स्वास्थ्य संगठनको सहयोगमा ल्याइएको थियो। खोप लगाउनुको प्रमुख कारण रोग नै भित्रिन नपाओस् भन्ने नै रहेको चिकित्सकको ठम्याई रहेको थियो। तर इन्फ्लुएन्जालाई सामान्य रुघाखोकीजस्तै हो भनिए पनि संक्रमणका समयमा हुने मृत्युलाई सामान्य मान्नु हुँदैन। यसको रोकथामका लागि रोग फैलिएपछि हतारिने नभई तयारी अवस्थामा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी हुनुपर्ने विश्वव्यापी मान्यता रहेको छ। यतिबेला नेपालका नेतागण संघीयताको अभ्यासमा लागेकै कारण स्वास्थ्य सेवाभन्दा ठेक्कापट्टामा गरिने सडक विस्तारका काम नै बढी प्राथमिकतामा पारेर दौडधुपमा लाग्नुभएको देखिन्छ। यसो हुनुको प्रमुख कारण नेतालाई सानोभन्दा सानो समस्या भए पनि देशको ढुकुटी खर्चिएर विदेश जाने सुविधा भएकाले जनस्वास्थ्य प्राथमिकतामा नपरेको हुनसक्छ।
प्रतिक्रिया दिनुहोस्