मेलामा हिन्दु र बौद्ध धर्मावलम्वीहरुको जमघट



पुष्कर बुढाथोकी, भक्तपुर ।
पर्यटकीय क्षेत्र नगरकोटमा अवस्थित महादेव पोखरीमा हरेक वर्ष श्रावणशुक्ल पूर्णिमाको अवसरमा मेला लाग्ने गरेको छ । भक्तपुर र काभ्रे जिल्लाको संगमस्थलमा रहेको उक्त स्थान आइतबार जनै पूर्णिमाको अवसरमा भक्तजनहरुको घुइचोँ लागेको छ ।
नेपालमा रहेका हिन्दु र बुद्ध धर्मावलम्वीहरुको साझा तीर्थस्थल मध्ये यो पनि एक हो । आइतबार बिहानैदेखि महादेवपोखरीमा हिन्दु र बुद्ध धर्म मान्ने भक्तजनहरुको बाक्लो उपस्थिती रहेको छ । जहाँ रहेको पोखरीमा स्थान गर्ने, नजिकै रहेको महादेवको मन्दिरमा दर्शन गर्ने परम्परा रहको छ ।
बुद्ध धर्मावलम्विका विषेश गरि तामाङ समुदायहरुले आफ्नोघर देखि नै झाँक्री( भोम्बो) बनेर मोलम (मन्त्र) पाठ गर्दै आउने गर्दछन् । उनीहरुको स्वागतमा ठाउँ ठाउँमा सगुन राखिने र सगुन राखेको घर वा बाटो अगाडी केहीबेर मालोम पाठ गर्ने गर्दछन् ।
हिन्दु समुदायले भने मकै, फुल, फलफुल महादेव पोखरीमा चढाउने गरेका छन् । उक्तस्थानमा मेला भर्नकोलागि काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक र काभ्रेबाट भक्तजनहरु आउने गरेका स्थानीय पर्यटन व्यवसायी दामोदर दगांलले बताउनुभयो । मेलामा आउने भक्तजनलाई सहज दर्शनको व्यवस्था गर्न स्थानीय क्लब तथा पर्यटन व्यवसायीहरु लागेका छन् ।
जनै पूर्णिमाको अवसरमा बिहानैदेखि भक्तपुरका विभिन्न कुण्डमा स्नान गर्ने र महादेवको दर्शन गर्नेको घुइँचो लागेको छ । भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो ।
जनै पूर्णिमाको दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो ।लोककथनअनुसार महादेवले कालकुट विष सेवन गरेपछि छटपटिएर गोसाइँकुण्ड जाने क्रममा नगरकोटमा बास बसेको धार्मिक विश्वासका आधारमा आजको दिन सो कुण्डमा मेला लाग्ने गरेको अर्का संस्कृतिकर्मी प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “गोसाइँकुण्ड जान नसक्ने भक्तजनले यो कुण्डमा स्नान गरे गोसाइँकुण्डमा स्नान गरे सरह नै पूण्य प्राप्त हुने जनविश्वास रहेको छ ।”
त्यसैगरी गोसाइँकुण्डकै प्रतीक मानिने भक्तपुरको धल्चा पुखुः (कालदह)मा पनि बिहानैदेखि स्नान गर्नेको भीड लागेको छ । यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरवार स्क्वायरस्थित शिलु महादेव (फसी देगः) को दर्शन गरे गोसाइँकुण्ड गए सरह पूण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ ।
आजको दिन कालदहमा स्नान गरी महादेवको पूजाअर्चना गरे सुख, शान्ति र पूण्य प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास र मान्यता रहेको छ । कालदहमा स्नानपछि भक्तजन जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्