निर्मला हत्या प्रक्ररण, प्रहरीको अर्को बदमासी 



विजय ज्ञवाली,
आखिर हामी कता जाँदै छौं ? हामीले कस्तो लोकतान्त्रिक अभ्यास गर्दै छौं, जहाँ न्याय माग्न जाँदा छातीमा गोली दागिन्छ। आखिर हामीले अवलम्बन गर्न खोजेको कस्तो लोकतान्त्रिक परिपाटि हो र हामीले पाउनुपर्ने न्याय कस्तो खालको हो ? अन्यायमा परेकाले न्याय माग्न खोज्दा छातीमा गोली दागिन्छ भने अब हामीले हरेक लोकतान्त्रिक चरित्रभित्र नागरिकको नैसर्गिक अधिकारको रूपमा रहेको न्यायलाई रगतको होलीसँगै परिभाषित गर्ने या न्यायप्राप्तिकै लागि हरेक संघर्ष र बलिदानीलाई शूलीमा चढाएर एउटा अलग्गै हिंस्रक आन्दोलनको शुरुआत गर्ने त ?
कञ्चनपुर घटना जति आततायी छ, उत्ति नै मात्रामा स्थानीय प्रशासनको रवैया घोर भत्र्सनायोग्य छ। न्यायको खातिर संघर्ष गर्दै आएका कतिपय स्थानीयमाथि प्रहरीले गोली चलाउँदा दर्जनौं व्यक्ति घाइते हुन पुगेका छन् भने हिजोमात्र एक किशोरको प्रहरीको गोली लागि मृत्यु हुन पुगेको छ। प्रहरीको योभन्दा ठूलो ज्यादती अरू के हुन सक्दछ र ? आखिर के नै माग गरेका थिए र कञ्चनपुरका स्थानीय नागरिकले ? एउटा बलात्कारी र हत्यारालाई पक्रेर कानुनी कठघरामा उभ्याइयोस् भनेर माग राख्दै गर्दा प्रहरी यो हदसम्मको दमनमा उत्रिन हुन्छ कि हुँदैन त ? हत्यारा सार्वजनिक गर्न दबाब दिँदै सडकमा ओर्लिएका स्थानीयमाथि प्रहरी प्रशासनको यो ज्यादती अब कदापि स≈य हुनेछैन र हुनु पनि हुँदैन। अब प्रहरीले नै जवाफ दिनुपर्दछ कि के हत्यारा सार्वजनिक गर्न माग गर्दै शान्तिपूर्ण जुलुसमा उत्रनु के ती स्थाीनयको अपराध थियो ? के तिनीहरूले कुनै उग्र एवं हिंसात्मक आन्दोलन गरिरहेका थिए या कानुनले बन्देज लगाएको या निषेध गरेको स्थानमा हातहतियारसहित प्रदर्शनमा उत्रिएका थिए ? होइन भने निर्मला पन्तको हत्यामा संलग्न असली अभियुक्तलाई पक्रिएर कानुनी कठघरामा उभ्याउन माग गर्दै आएका स्थानीयमाथि किन र कसको आदेशमा गोली चलाइयो ? प्रहरी प्रशासनसँगै गृह मन्त्रालयले तुरुन्त जवाफ दिनुपर्दछ।
महिना दिनभन्दा धेरै भयो, एउटी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपश्चात् निर्मम हत्या भएको। तर प्रहरी प्रशासन भने अभियुक्तलाई पक्रिएर कानुनी कठघरामा उभ्याउन असफल छ। आफ्नो असफलतालाई ढाकछोप गर्न उल्टै एक मानसिक सन्तुलन गुमाएको युवालाई जबरजस्ती छोपेर घटना कबोल गर्न लगाई असली अपराधीलाई लुकाउन खोजेको छ, या त उसलाई भाग्ने मौका दिइराखेको छ। विभिन्न कारण र तथ्य र प्रमाणले पनि प्रहरीले सार्वजनिक गरेको भनिएका ती मानसिक सन्तुलन गुमाएका युवक बलात्कारी र हत्यारा होइनन् भन्ने सार्वजनिक हुँदाहुँदै पनि प्रहरी तिनै निर्दोष व्यक्तिलाई कसुरदार ठहर्याउने हरसम्भव प्रयासमा छ। भलै ती व्यक्ति विगतमा आफ्नै भिनाजुको हत्या अभियोगमा जेल सजाय भोगेर राष्ट्रपतिबाट कैद मिनाहा पाएका होऊन्, तर के एकपटक अपराध गर्यो भन्दैमा सधैं अपराधीको नजरले हेर्नु कत्तिको तर्कसंगत कुरा हो ? जेल सजायपश्चात् मानसिकरूपमा विक्षिप्त रहेका ती व्यक्तिले बलात्कार र हत्या गरेका होइनन् भनेर सम्पूर्ण स्थानीयले भन्दै गर्दा प्रहरी प्रशासनले एकोहोरो एउटै निमुखा व्यक्तिलाई जबरजस्ती पुनःश्च अपराधी सावित गर्न खोज्नु कहाँसम्मको नालायकीपना हो ? आखिर के त्यस्तो बाध्यतामा छ प्रहरी? कि असली अपराधीलाई सार्वजनिक गर्नै चाहँदैन या सकिराखेको छैन ?
केही महिनापहिला काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका ११ वर्र्षीय बालक निशान खड्काको अपहरण र हत्याको आरोपमा प्रहरीले २ जना अपहरणकारीलाई पक्राउपश्चात् घ्याम्पेडाँडामा लगेर गोली हानेर मारेको थियो। बिनाअनुसन्धान, सोधपुछबिनै सीधै लगेर कथित् फेक इन्काउन्टरको नाममा प्रहरीले ती २ अपहरणकारीको हत्या गरेको थियो। कारबाहीका लागि कानुनी बाटो हुँदाहुँदै पनि जंगलमा लगेर गोली ठोकेर हत्या गरेको प्रहरीले उक्त हत्यालाई इन्काउन्टरको नाम दिएर आफ्नो बहादुरी त देखायो, तर सर्वत्र आलोचनाको शिकार पनि बन्न पुगेको थियो। यसको एकाध महिना पनि नबित्दै प्रहरी कञ्चनपुरमा फेरि बदनामको पर्याय बन्दै छ र घटनामा संलग्न वास्तविक अपराधीलाई लुकाएर या कुनै शक्तिकेन्द्रको आडमा संरक्षण दिएर प्रहरीले घटनालाई अन्तै मोड्न खोजेको देखिन्छ। तर, यसपालि कञ्चनपुरवासीले भने प्रहरीको यस्तो हर्कत सहन तयार भएनन् र त वास्तविक हत्यारा पत्ता लगाई निर्मलाको परिवारलाई न्याय दिलाउनकै खातिर गोली खान पनि तयार भएका देखिन्छन्।
महिना दिनभन्दा धेरै भयो, एउटी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपश्चात् निर्मम हत्या भएको, तर प्रहरी प्रशासन भने अभियुक्तलाई पक्रिएर कानुनी कठघरामा उभ्याउन असफल छ। उसले आफ्नो असफलतालाई ढाकछोप गर्न उल्टै एक मानसिक सन्तुलन गुमाएका युवालाई जबरजस्ती छोपेर घटना कबोल गर्न लगाई असली अपराधीलाई लुकाउन खोजेको छ, या त उसलाई भाग्ने मौका दिइराखेको छ। 
बालिका निर्मला पन्तको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलासा भए तापनि बलात्कार र हत्या कसले गर्यो भनेर प्रहरी आफैं निष्कर्षमा पुग्न सकिराखेको छैन। किशोरीको पोस्टमार्टम रिपोर्टबाट उक्त कुरा पुष्टि भएको प्रहरीले जनाएको त थियो तर बलात्कार गर्ने समूहमा थिए वा एक्लैले गरेको हो भन्ने कुरा अझै खुल्न सकेको छैन। शव भेटिएको स्थानमा पानी भरिएका कारण कति जनाको संलग्नता थियो भन्ने विषयमासमेत प्रहरी यकिन हुन सकेको छैन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले डीएसपी अंगुर जीसीको नेतृत्वमा घटना अनुसन्धान गर्न एक टोली महेन्द्रनगर पठाएको थियो। सो टोलीसहित जिल्ला प्रहरी कार्यालयले पनि प्रहरी निरीक्षक एकीन्द्र खड्कालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ। घटना भएको यतिका दिन बितिसक्दासमेत वास्तविक अपराधी पत्ता नलगाई एउटा निर्दोषलाई अपराधी सावित गर्न खोज्दा स्थानीय झनै उत्तेजित भएका हुन्।
स्थानीयले बालिका हत्याका विरुद्ध दैनिक प्रदर्शन गर्दै आइरहेका छन्। प्रहरीले अनुसन्धानका क्रममा अहिलेसम्म ४० भन्दा बढीलाई नियन्त्रणमा लिई सोधपुछ गरिसकेको जनाएको छ। तर बालिकाका बुवाले अनुसन्धान फितलो भएको र आफूहरूले शंका गरेका व्यक्तिसमेत छाडिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। यता सीआईबीका डीएसपी अंकुर जोशीले बिग्रेको घटनास्थलका कारण अनुसन्धानमा जटिलता आएको भनेर सार्वजनिकरूपमै भनेका छन्। प्रहरीले निर्मलाको गहन शव परीक्षण (भिसेरालगायतको मेडिकल जाँच)को रिपोर्ट कुरेको देखिन्छ। सो प्रतिवेदनमा वीर्य, डीएनए, रौं र हत्याको मूल कारण पत्ता लाग्ने सम्भावना रहन्छ। प्रयोगशालाले १÷२ दिनमैं रिपोर्ट पठाउने सम्भावना छ।
घटना र घटनास्थलको प्रकृति हेर्दा निर्मलाको हत्यारालाई घटनास्थल र सो आसपासको क्षेत्रसम्बन्धी राम्रो ज्ञान भएको ठहरमा प्रहरी पुगेको स्रोतको भनाइ छ। प्रहरी निर्मलाको हत्या शव पाइएको स्थानमा नभई अन्यत्र भएको निष्कर्षमा पुगेको बताइएको छ। हत्याराले अत्यन्त सोचविचार गरी निर्मलाको शव उखुबारीमा फाले पनि निर्मलाको साइकल र कापी किताब पाइएका स्थान हेर्दा प्रहरी सो निष्कर्षमा पुगेको स्रोतको भनाइ छ।

फेरि पनि औंला प्रहरीतिरै 

१) बालिका बलात्कार र हत्याको घटनासँगै धेरै शंका र अनुत्तरित प्रश्न पनि सँगै जोडिएर आएका छन्। साउन १० गते भीमदत्त नगरपालिका–४ भगतपुरस्थित साथी रोशनी बमको घरमा पढ्न गएकी निर्मला त्यसदिन घर फर्किइनन्। उनी बेपत्ता भएपछि घरपरिवार र छरछिमेकले खबर गर्दा प्रहरीले ‘भोलि’ भनेर टारेको आरोप लगाइएको छ। आखिर यस्ता संवेदनशील कुरामा प्रहरीको ढिलासुस्ती किन र कसका लागि ?
२) निर्मलाकी आमा दुर्गा पन्तले छोरी अबेरसम्म घर नफर्केपछि साँझ ६ बजे खोजतलासका लागि रोशनीको घर पुग्दा ढोका नखोलिएको बताएकी छिन्। आफूले बाहिरबाट ढोका ढकढक्याएको तर ढोका नखुलेको निर्मलाकी आमाको दाबी छ। उनले भनेकी छिन्– ‘बबिताले झ्यालबाट निर्मला दिउँसै घर गएको कुरा निकै चर्को स्वरमा झर्को मान्दै बताएकी थिइन्।’ बबिता र रोशनी २ बहिनी हुन्, तर बबिता झर्किनु र चर्को स्वरमा बोलेर थर्काउनुको कारण के थियो ? प्रहरी किन यतातर्फ जान चाहेको छैन ?
३) छोरी नभेट्टिएपछि राति साढे १० बजे छिमेकीसहित आफू फेरि रोशनीको घर गएको दुर्गाले बताएकी छिन्। फेरि निर्मलाका बारेमा नराम्रा शब्द प्रयोग गर्दै आफूहरूलार्ई धम्क्याएको उनको दाबी छ। बबिताले ‘तँलाई के लाग्छ मेरा कोही छैनन्, तँ पटक–पटक मेरो घरमा आएर ममाथि शंका गर्दै छेस् तुरुन्त मेरो घरबाट निस्किहाल’ भनेर धम्की दिएपछि आफूले प्रहरीलाई खबर गरेको दुर्गाको कथन छ। आफ्नी हराएकी छोरी खोज्न जाँदा निर्मलाकी आमालाई गरिएको यस्तो हर्कत सार्वजनिक हुँदासम्म पनि प्रहरीले किन आँखा चिम्लियो ?
४) अर्को दिन बिहान आफू बबिताको घर जाँदा फेरि दुव्र्यवहार गरिएको दुर्गाको कथन छ। मृतक निर्मलाको साइकल निम्बखेडास्थित खोलामा फालिएको अवस्थामा फेला परेको थियो। मृतक निर्मला पन्तकी आमाका अनुसार बबिताले नै साइकलका बारेमा जानकारी गराएकी थिइन्। साइकल फालिएको ठाउँका बारेमा बबिताले बताएपछि खोजी गर्दै जाँदा उखुबारीमा निर्मलाको शव भेटिएको दुर्गाको भनाइ छ। साइकल खोलामा फालेको बताउँदै लास पनि यस्तै आसपासमा नै होला खोज्नुस् भनी बबिताले स्थानीय वासिन्दालाई समेत सल्लाह दिएकी दुर्गाको भनाइ छ, तर गाउँलेसँगै लास खोज्नमा बबिताले किन इच्छा जाहेर गरिनन् ?
५) प्रहरीले घटनामा संलग्न रहेको आशंकामा रोशनी र बबितालाई नियन्त्रणमा लिएको थियो, तर उनीहरूलाई तत्काल छोडियो।बबिता बहिनी रोशनी बमसँगै भगतपुरस्थित आफ्नै घरमा बस्दै आएकी छन्। यति संवेदनशील घटनामा प्रहरी आखिर किन चुक्यो ती २ बहिनीलाई नियन्त्रणपश्चात् अनुसन्धान गर्नमा ? या यसबीचमा प्रहरीमाथि कसको चर्को दबाब आइपर्र्यो र प्रहरीले यति सहजै उम्किन दियो त ?
६) श्रावण १० गते हराएकी निर्मलालाई प्रहरीकै रिपोर्टअनुसार त्यसै दिन १–२ बजेभित्रै मारेर छेउको उखुबारीमा फालियो भनेर अभियुक्त सार्वजनिक गरिएको दिन भनिएको छ। अभियुक्तका रूपमा समातिएका सुस्तमनस्थितिका त्यस्ता व्यक्तिले दिउँसै सडकमा साइकलमा सवार बालिकालाई समातेर उखुबारीमा लागि बलात्कार गरी मार्न सम्भव छ? जबकि उक्त सडकमा हरेक मिनटमा १–२ जना मान्छे हिँडिरहन्छन्।
७) स्थानीयका अनुसार स्थानीयले नै ती मृत बालिकाकी साथीसँग बयान लिँदा करिब ३ घन्टा उनैको घरमा बसेकी र पछि झोलामा अम्बा, कापी र किताब हालेर साइकल चलाउँदै आफ्नो घर गएकी हुन् भन्ने छ, तर छिमेकी भन्छन्– ‘त्यो घरको अम्बाको रूख त्यसैदिन फेंदैबाट काटेर ढालिएको छ। आखिर त्यसो गर्नुको के कारण हो ? फलिरहेको अम्बाको बोट त्यही दिन नै किन फेंदैबाट काट्न बाध्य भए त ?
८) प्रहरीले बताएअनुसार उक्त आरोपित सुस्तमनस्थितिवालाले त्यसै दिन दिउँसो घटना घटाएको भन्ने छ। यदि त्यसो हो भने त्यो उँखुबारीनेर साइकिल देखिनु पर्ने हो। जबकि भोलिपल्ट बिहानमात्रै सडकछेउमा साइकल देखियो भन्ने कुरो छ। आफ्नी छोरी हराएपछि खोज्दै जाँदा उसै दिन साँझसम्म पनि त्यहाँ साइकल थिएन भन्ने स्थानीयको मत छ।
९) प्रहरीले नै प्रारम्भिक अनुसन्धानमा यस घटनामा ६÷७ जना मिलेका छन् भनी बताएको कुरो छ, तर पछि कसरी १ जना मात्रै भएको रिपोर्ट निकाल्न बाध्य भयो प्रहरी ?
९) घटना श्रावण १० गते घट्यो। निर्मलाको शव फेला परेदेखि नै पीडितले रोशनी बमलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ भन्दा ‘हैन उनीहरू त दोषी हुँदै हैनन्, हामीले सोधपुछ गरिसक्यौं’ भनेर प्रहरीले बचाउ गर्नुको पछाडिको कारण के हो ? कसले रोक्यो अनुसन्धान गर्न ? कसको दबाब पर्यो अनुसन्धानमा खटिएका प्रहरीमाथि ?
१०) घटनाको २०–२२ दिनपछि पीडितका पितालाई चौकीमा बोलाइन्छ र ‘फलानो एक व्यक्ति भेटिएको छ तिनका विरुद्धमा किटानी जाहेरी दिनुपर्यो’ भनी दबाब दिइन्छ। यसरी प्रहरीले जबरजस्ती दबाब दिनुको कारण के हो ?
११) सुस्तमनस्थिति भएकै व्यक्तिले घटना घटाएको भन्नका लागि प्रहरीले घटना घटेको २०–२२ दिनपछि मात्र आसपासबाट कन्डम र आरोपीको गोजीको कपडा मिल्यो भनेर बताएको छ। २०–२२ दिनसम्म कन्डम कसरी जस्ताको तस्तै सुरक्षित रहन्छ ? त्यो पनि पानी परेर पानी जम्मा भएको स्थानमा ? दोषी भनिएका व्यक्तिको च्यात्तिएको कपडा पनि हिलाम्य हुनुपर्ने तर त्यहाँ न कन्डम हिलाम्य छ न च्यात्तिएको कपडाको टालो नै। जब बलात्कार गरेर मार्नु नै छ भने कसैले कन्डमको झन्झट बेहोर्ला र ?
१२) शव भेटिएको ठाँउमा प्रहरीले फेला पारेको भनिएको बालिकाको कापी किताब दुरुस्तै रहेको पाइएको छ। जबकि रातभरि पानी परेको हो र पानी जम्मा भएको स्थान हो भने ती कापीकिताब कसरी दुरुस्तै फेला पर्दछन्? फेरि कापी किताब र कलम टपक्क राखेको अवस्थामा फेला परेका छन्। यद्यपि बालिकामाथि हातपात भएकै हो भने बालिकाले प्रतिकार अवश्य गरेकी होलिन्। प्रतिकारको क्रममा कापीकिताब असरल्ल हुनुपर्ने होइन र ?
१३) प्रहरी नै भन्छ घटनाको २४ दिनपछिमात्र सार्वजनिक गरिएको भनिएका अभियुक्तले पहिले पनि आफ्ना भिनाजु मारेर जेल बसेर फर्केर आएका हुन्। त्यसो भए प्रहरीलाई पहिल्यै जानकारी भएका ती व्यक्तिलाई पक्रन मात्र किन २४ दिन लाग्यो ? जबकि ती ब्याक्ति सधंै त्यही गाउँमा बिहान–साँझ डुलिरहन्थे भन्ने स्थानीयको भनाइ छ।
१४) अर्को कुरा ती आरोपित भनिएका व्यक्ति घटना घटेको स्थलआसपास लठ्ठी बजाउँदै हिँडेको अवस्थामा रातको ८ बजे भेटिएको भन्ने प्रहरी दाबी छ। जबकि पीडित पक्ष भन्छन्– ‘ऊ घटना घटेनेरको बाटो–बाटो प्रायः हिँड्दैनथियो रे।’
यतिका प्रश्न अनुत्तरित रहँदै गर्दा प्रहरी आश्चर्यजनकरूपमा मौन बसेर यौटा निर्दोषलाई अपराधी सावित गर्न खोज्नु कुनै पनि कोणबाट न्यायोचित मानिँदैन। स्थानीयले जसमाथि शंका र औंला उठाएका छन्, ती व्यक्तिउपर प्रहरीले गहन अनुसन्धान गर्नै पर्दछ। बित्थामा यौटा निर्दोषलाई अपराधीको भागिदार बनाएर प्रहरीले आफ्नो अनुहारमै कालो पोतेको छ कञ्चनपुर घटनामा। यस्ता घटनाले अपराधीको मनोबल बढ्ने र सर्वसाधारण असुरक्षित हुँदै जाने निश्चित छ। सरकारको बेइमानीका कारणले सुरक्षाको नाममा गोली चलाउनुपरेको र निहत्था मानिस हताहत हुन पुगेको हो। समयमै उचित कदम नचाल्दा धमिलो पानीमा माछा मार्ने व्यक्ति निश्चितै सलबलाउँछन्। सर्वसाधारण जनताको मागप्रति सरकार उदासिन भएको देखिँदै जाँदा भीडलाई उत्तेजित गराउने जमात पनि सक्रिय भएका हुन सक्छन्।
यौटी १३ वर्षीया बालिकाको बलात्कारपश्चात् निर्मम हत्याका अपराधीलाई कारबाहीको माग गर्दै आन्दोलित जनतालाई गोली चलाउनु अर्को अपराध हो। घटना हेर्दा र सुन्दा कुनै शक्ति अपराध लुकाउन खोज्दै छ। कञ्चनपुर प्रहरी प्रशासन मतियार बनेको देखिन्छ। यति लामो समयसम्म जनताले न्यायको माग गर्दै सडकमा आउँदा सरकारचाहिँ के हेरेर बस्छ ? कञ्चनपुर घटनाले केही वर्ष पहिले पोखराका नमिता–सुमिता हत्याकाण्डको याद दिलाएको छ। नमिता–सुनिता घटनामा प्रहरीलाई नक्कली अपराधी खडा गर्नु पनि परेको थिएन।
जनताको न्यायको आवाज गोलीबाट रोक्न खोज्दा १२ वर्षीय किशोरले अनाहकमा मृत्युवरण गर्नुपरेको छ। समयमा नै समाधान गर्नुपर्ने यस्ता आपराधीक घटनालाई लुकाउन खोज्नु र अपराधी बच्ने र बचाउने काम अत्यन्त घातक हुनेछ। आज उम्किएको र उम्काउन खोजेको अपराधीले भोलि फेरि यस्तै अर्को वीभत्स घटना नघटाउला भन्न सकिन्न। तसर्थ कसैको दबाब, प्रभाव या धम्कीको सामुन्ने नझुकिकन प्रहरीले सत्य बाहिर ल्याउनुको विकल्प छैन। जनतालाई गुमराहमा पार्न खोज्दा कतै प्रहरी प्रशासनले ठूलो मूल्य चुकाउन नपरोस्, बेलैमा चेतेको राम्रो। निर्मलाको परिवारले न्याय पाउनैपर्छ।

प्रतिक्रिया दिनुहोस्