अपराधको पराकाष्टा नियन्त्रण गर



बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको परिवारलाई न्याय र हत्याराको खोजीका लागि विगत एक महिनायता कञ्चनपुरमा आन्दोलन जारी छ । तर अपराधी पत्ता लगाउन स्थानीय प्रशासन गम्भिर नभएपछि केही दिनयता आन्दोलन अन्यत्र पनि फैलिएको छ । आन्दोलन दवाउन शुक्रवार साँझ प्रहरीले गोली चलाउँदा १४ बर्षिय बालक सन्नी खुनाको मृत्यु भएको छ भने केही आन्दोलनकारी घाइते भएका छन् । नेपाल विद्यार्थी संघको टोलीले जिल्ला प्रशासन कार्यालय घेराउ गरी कार्यालय प्रवेश गरे उत्तेजना फैलाउन खोजेपछि फायरिङ गर्दा खुनाको मृत्यु भएको स्थानीय प्रशासनको दावी छ ।

त्यहाँका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख हेरफेर भएपछि आन्दोलन केही मत्थर भएपनि विहीवार पनि आन्दोलनकारी र प्रहरी वीच झडप भएको थियो, सो क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका थिए ।

आन्दोलनले उग्ररुप लिने निधो भएपछि विहीवारदेखि त्यहाँ कफ्र्यू लगाइएको छ । गत साउन ११ मा भीमदत्त नगरपालिका–२ महुलिया उल्टाखामकी १३ वर्षीया पन्तको शव निम्बुखेला खोलापारि उखुबारीमा फेला परेको थियो । अघिल्लो दिन साथीको घरमा गृहकार्य गर्न गएकी छोरी राती अवेरसम्म नफर्किएपछि अभिभावक र आफन्तले स्थानीय प्रशासनलाई खवर गरेका थिए ।

अर्धनग्न अवस्थामा निर्मलाको शव फेला परेको थियो, प्रहरीको प्रारम्भिक अनुसन्धानले सामूहिक बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको पुष्टी भएको थियो । आफन्त र स्थानीयले तत्काल अपराधी पत्ता लगाएर कार्वाही गर्न दवाव दिदै आएपनि प्रहरीले यति लामो अवधिमा घटनाका वास्तविक अपराधी सार्वजनिक गर्न सकेको छैन । घटना भएको २६ दिनपछि प्रहरीले अपराधी भन्दै मानसिक सन्तुलन ठीक नभएका ४२ बर्षिय दिलिप सिंह विष्टलाई सार्वजनिक गरेपनि स्थानीयले स्वीकार गरेका छैनन्, आन्दोलन झनै बढेको छ । शक्तिको आडमा वास्तविक अपराधी लुकाइएको निर्दोष व्यक्तिलाई आरोपी बनाइएको आन्दोलनकारीको तर्क छ ।

घटनाको विरोधमा देशव्यापी आलोचना बढ्न थालेपछि विहीवार गृह मन्त्रालयले सोही मन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ । पन्त र खुनाको परिवारलाई न्याय दिलाउन सामाजिक सञ्जालमा सरकार विरोधी आवाज तीव्र भएको छ भने यही क्रममा शनिवार काठमाडौं सहित अन्यत्र प्रर्दशन भएको छ ।

बलात्कारको घटनासँग जोडिएकी पन्त एक प्रतिनिधी पात्र मात्रै हुन्, हरेक दिन जस्तो यस्ता घटना सार्वजनिक भइरहेका छन् । पोखरा महानगर–१९ लामाचौरकी १३ वर्षिय बालिका पुष्पा केसीको शव पनि निर्मलाकै जस्तो हालतमा भेटिएको छ । विहीवार विद्यालयबाट फकिँदा घर पुग्नु भन्दा केही वर टमाटर किन्न भन्दै स्कूल बसबाट उत्रिएकी उनी शुक्रवारसम्म पनि नभेटिएपछि खोजविन गर्दा मृत्त अवस्थामा फेला परेकी हुन् ।

एकपछि अर्को उस्तै प्रकृतिका घटना सार्वजनिक हुने क्रम बढेपछि सरकार सुरक्षामा गम्भिर हुन ढिलो भइसकेको प्रष्ट भएको छ भने अनुसन्धान अघि बढाइएका घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडा कार्वाहीको दायरामा ल्याउनै पर्छ । यस्ता घटनाले दण्ड हिनता र विधीको शासनको हाकाहाकी खिल्ली उडाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्