‘मकालु’ बैंकक पुगेर फर्कियो



काठमाडौं, (नेस)
नेपाल वायुसेवा निगमको वाइडबडी विमान ए ३३०–२०० सिरिजको ९ एन–एएलजेड कलसाइनको ‘मकालु’ विमानले शुक्रबारबाट उडान थालेको छ। विमानले बैंकमा पहिलो व्यावसायिक उडान भरेको हो।

विमानले साउन ३१ गते नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको थियो। विदेशी क्याप्टेन जुडरो रोय म्याथिस मिरान्डो र नेपाली क्याप्टेन सञ्जय पौडेलसहितको १० जना चालक दलका सदस्यसहित मकालु शुक्रबार विहान १०ः ३५ मा २ सय १५ यात्रु लिएर बैंकक उडेको थियो। विमानले ३ घण्टामा काठमाडौं–बैंकक दूरी पूरा गर्छ। विमानले लगातार ११ घण्टा सम्म उडान गर्न सक्छ। मकालुले बैंककबाट शुक्रबार नै बेलुका ७ बजेर ५ मिनेटमा २ सय ५७ यात्रु लिएर काठमाडौं अवतरण गरेको थियो।

यसअघि निगमको वाइडबडी विमान ए ३३०–२०० सिरिजको ९ एन–एएलवाई कलसाइनको ‘अन्नपूर्ण’ विमानले गत साउन १६ गते कतारको दोहामा क्याप्टेन श्रवण रिजालको नेतृत्वमा रहेको १३ चालक दलका सदस्यले पहिलो व्यावसायिक उडान गरेको थियो।

वाइड बडी विमानमा १८ विजनेस कलास, २ सय ५६ सिट इकोनोमी गरी कुल २ सय ७४ सिट क्षमता रहेको छ। निगमको नियमित गन्तव्यमा उडान भर्दैै जाने योजना रहेको तथा साउदी अरेबियाको रियादमा चाँडै उडान भर्ने योजना रहेको निगमका सहप्रवक्ता शैलेश कंसांकारले बताउनुभयो। निगमले अक्टोबर÷नोभेम्वरमा जापान र कोरियामा उडान भर्ने गरी व्यावसायिक योजना बनाएको कंसारले बताउनुभयो। निगमले दुईटा वाइड बडी विमान खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ९ प्रतिशत ब्याजमा १५ वर्षका लागि २४ अर्ब ऋण लिएको छ।

निगमले दुई वाइड बडी जहाज २०९ दशमलब ६ मिलियन अमेरिकी डलर मूल्यका आधारमा खरिद गरेको हो। हाल निगमले दुबई हङकङ, बैंकक, बैंगलोर, दोहा, मलेसिया, नयाँदिल्ली, मुम्बईमा उडान भर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्