किशोर–किशोरीको रोजाइ



ज्ञानमणि नेपाल कालोटोपी,

साहित्यकार कौशिला रिसालको दोस्रो साहित्यिक कृति ‘आहा फूल…’ यति बेला बजारमा छ। साहित्यमा कमै मात्र लेखिने किशोर कथासङ्ग्रह यसपटक रिसालको छनौटमा परेको छ। उहाँले आफ्नो पहिलो कृति नयाँ वर्षको उपहारपछि आहा फूल सार्वजनिक गर्नुभएको हो। यसभित्र ९ वटा कथाहरू छन्।

प्रत्येक कथाहरूले किशोरहरूका मनोविज्ञानलाई चित्रण गरेका छन्। साह्रै साना बालबालिकाभन्दा माथिल्लो उमेरका अनि युवा नभइसकेका किशोर–किशोरीहरूलाई लक्षित गरी लेखिएका कथाहरू छोटा छन् तर गहन छन्। कथाहरू पढ्दा किशोर र युवाहरूलाई ऊर्जा दिने खालका छन्। यसमा अटाएका सबैजसो कथाहरू मझौला आयाममा लेखिएका छन्। धेरै लामा पनि छैनन् र साह्रै छोटा पनि छैनन्। आफू शिक्षक भएकाले बालबालिका र किशोर–किशोरीका मनोभावहरू राम्ररी बुझेर लेखक कथाहरूमा उनीहरूले व्यक्त गर्ने, मनमा खेलिरहने तर व्यक्त गर्न नसक्ने भावनालगायतका विषयलाई पनि कथाका रूपमा उतार्न सफल हुनुभएको छ। ‘आमा मलाई भोक लाग्यो’ कथामा किशोर–किशोरीहरू छिट्टै रिसाउँछन् र छिट्टै पछुताउँछन् पनि भन्ने विषयलाई उनीहरूले देखेको सपनाको माध्ययमबाट देखाइएको छ।

त्यस्तै ‘अज्ञानले गरेको भूल’ कथामा किशोर–किशोरीहरू कुनै पनि निर्णय गर्दा आवेगमा गर्छन् तर पछि आउन सक्ने समस्याका बारेमा पहिले नै सोच्न सक्दैनन् भन्ने विषय अटाइएको छ। यस कथाका पात्र घर छोडेर शहरमा सुख पाउने सोचका साथ कसैलाई थाहा नदिई भागेर जान्छ तर शहरमा पुगेपछि दुःख र हण्डर मात्र पाउँछ। र, घर नै फर्केर आमाबुबासँग आफ्नो गल्ती महसुस गर्न पुग्छ। यस्तो अवस्था अधिकांश किशोरहरूमा हुन सक्छ। कथाकारले यस्तै विषयलाई केन्द्रित गर्न खोज्नुभएको छ।

अन्य कथाहरू पनि सन्देशमूलक र मार्मिक छन्। तर थोरै र छोटा कथा रहेकाले सबै खाले खुराक दिन भने नसकेको हो कि भन्ने अधिकांश पाठकलाई भान पर्न सक्छ। भाषाशैली सरल र सजिलै बुझ्न सकिने रहेकाले कथा समग्रमा सफल नै देखिन्छ। यो कथाको पुस्तक १ सय रुपियाँमा बजारमा किन्न पाइन्छ।

प्रतिक्रिया दिनुहोस्