प्रदेश ७ को राजधानी गोदावरी र नाम खप्तड राख्न सिफारिस



कैलाली ।
प्रदेश नं. ७ को नाम र राजधानी टुङ्गो लगाउन गठित विशेष समितिले मंगलबार प्रतिवेदन पेस गरेको छ। समितिले प्रदेशको नाम ‘खप्तड’ र प्रदेशको स्थायी राजधानी कैलालीको ‘गोदावरी’ सिफारिस गरेको छ ।
समितिका संयोजक तारा लामा तामाङसहित सदस्यहरुले संयूक्त रुपमा प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई कार्यकक्षमै गएर प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदन बुभ्mदै प्रदेशका सभामुख थापाले भने,‘जति सक्यो चाडो प्रदेश सभा बैठकमा यो विषयलाइ प्रवेश गराउने छु ।’ उनले समितिले बुझाएको प्रतिवेदनलाई लम्ब्याउने सोचमा आफू नरहेको बताए । ‘यसलाई अनिर्णयको बन्दी बनाउने छैन । चाँडै प्रदेश सभा बैठकमा प्रवेश पाउँछ ।’

‘हामीले सभामुखलाई प्रतिवेदन बुझाएका छौं’ समितिका संयोजक तारा लामा तामाङले भने, ‘सभामुखबाट नै कुन दिन संसदमा पेस गर्ने भन्ने निर्णय हुन्छ ।’ उनले समितिले सर्वसम्मत ढंगले स्विकार गर्न सक्ने गरि प्रतिवेदन तयार पारेको बताए ।

प्रदेशको नाम र राजधानीबारे के उल्लेख गर्नुभएको छ भन्ने जिज्ञासामा संयोजक तामाङले भने ‘त्यस विषयमा सभामुखज्यूले बोल्नु हुन्छ । हामीले यस क्षेत्रको नाम र राजधानी यस क्षेत्रका नागरिकले गौरव गर्ने गरि सिफारिस गरेका छौंं।’ उनले भने ‘ प्रदेश राजधानी यस क्षेत्रका सबै जनतालाई पायक पर्ने स्थानमा सिफारिस गरिएको छ ।’

‘प्रदेशका सबै प्रतिनिधी तथा सांसदहरुसंग भेट गरेर छलफल गरि यस विषयको टुङ्गो लगाउन सकिन्छ कि भनेर सात दिनको म्याद सभामुखले तोक्नु भएको थियो’ तामाङले भने ‘तर, सात दिनमात्र होईन मंगलबारसम्म पनि प्रदेश सभाका दुई जना सांसदसँग छलफल गर्न सकेको छैन् ।’ उनले प्रतिवेदन तयार गर्न समय अभाव भएको उल्लेख नगरेपनि केही सांसदहरुसंग छलफल गर्न नपाएको बताए ।

समितिले प्रदेश सभाका दुई सांसद, प्रदेशका शिर्ष नेता शेरबहादुर देउवाबाहेक प्रदेश तथा प्रतिनिधी सभाका सबै सांसद तथा नेतासंग छलफल गरेको थियो। यस क्षेत्रका स्थानीय जनप्रतिनिधीहरुले बुझाएको ज्ञापनपत्र लगायतलाई आधार मानेर प्रतिवेदन तयार पारेको तामाङले बताए ।

प्रदेशको नामबारे धेरै विवाद नभएपनि राजधानी कहाँ राख्ने भन्ने विषयमा भने दलहरू नै आन्तरिक रूपमै विभाजित छन्।

प्रतिक्रिया दिनुहोस्