सिटीद्वारा गोल वर्षा



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग फुटबलमा हडर्सफिल्डविरुद्ध म्यानचेस्टर सिटीले गोलको बर्षा गरेको छ ।

आइतबार घरेलु मैदानमा भएको खेलमा डिफेन्डिंग च्याम्पियन सिटीले हडर्सफिल्डलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । टोलीको जितमा सर्जियो अग्यूरोले ह्याट्रिक गर्दा गाब्रियल जेसस र डेभिड सिल्भाले १–१ गोल गरेका थिए । हडर्सफिल्डका टेरेन्स कांगोलोले सिटीलाई एक आत्मघाती गोल उपहार दिएका थिए । हडर्सफिल्डका लागि स्टन्कोविकले एक गोल फर्काएका थिए ।

खेलको २५ औं मिनेटमा अग्यूरोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटमै जेससले गोल गर्दै अग्रता दोब्बर बनाए । ३५ औं मिनेटमा अग्यूरोले व्यक्तिगत दोस्रो र सिटीका लागि तेस्रो गोल गरे ।

खेलको ४३ औं मिनेटमा हडर्सफिल्ड स्टन्कोविकले गोल गर्दै गोलअन्तर खुुम्च्याएका थिए । पहिलो हाफमा तीन गोलले अग्रता बनाएको सिटीको गोलबर्षा दोस्रो हाफमा पनि कायमै रह्यो । ४८ औं मिनेटमा सिल्भाले सिटीका लागि चौथो गोल गरे भने ७५ औं मिनेटमा अग्यूरोले ह्याट्रिक पुरा गरेका थिए । त्यस्र्तै ८४ औं मिनेटमा टेरेन्स कांगोलोले आत्मघाती गोल गरेपछि सिटीले ६–१ को शानदार जित दर्ता ग¥यो ।

दुई खेलमा लगातार जित निकालेको सिटी ६ अंक जोड्दै लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । यसअघि सिटीले आर्सेनललाई हराएको थियो ।
एकातिर सिटीले शानदार जित निकाल्दा म्यानचेस्टर यूनाइटेड भने पराजित भएको छ । यूनाइटेड ब्राइटन एन्ड होभ अल्वियोनसँग ३–२ ले पराजित भएको हो । ब्राइटनले घरेलु मैदानमा २७ मिनेट भित्र नै दुई गोल गर्न सफल भएको थियो । सोली मार्चको पासमा ग्लेन मुरेले गोल गर्दै टिमलाई १–० को अग्रतामा राखेका थिए ।

त्यसको दुई मिनेटपछि नै सेन डफीले गोल गरेपछि घरेलु टोली खेलमा २–० ले अघि बढेको थियो । ३४ औं मिनेटमा रोमेल लुकाकुले एक गोल फर्काउदै युनाइटेडलाई खेलमा फर्काउने संभावना बनाए । तर, ४४ औं मिनेटमा पास्कल ग्रसले पेनाल्टीमार्फत गोल गरेपछि ब्राइटन पहिलो हाफसम्म ३–१ ले अघि बढेको थियो ।

दोस्रो हाफमा अधिकांश समय बलमा पकड जमाएपनि पाउल पोग्बाले एक मात्र गोल गर्न सफल भएपछि यूनाइटेड जारी सिजनको दोस्रो खेलमा नै पराजित हुन पुग्यो । यस्तै अर्को खेलमा वाट्फोर्डले बर्नलेलाई ३–१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्