बाह्रविसेमा बाढीको बबण्डर



नानीराम नेपाल, सिन्धुपाल्चोक
‘गडगडाहटका साथ जमिन नै थर्कियो, बजारमै बाढी पसेपछि मध्यरातमा कोलाहल मच्चियो’, आइतबार विहान बाह्रविसे बजारमा भेटिएका स्थानीय नहेन्द्र बहादुर श्रेष्ठ बाढीको बबण्डर सुनाउँदै थिए । बजारमै बाढी पसेपछि बाह्रविसेका स्थानीयले साँधीखोलातिर नियाल्दा बडेमानका ढुंगा बजारिएर साँधीपुल भोटेकोसीमै खसिसके थियो ।‘ बजारका घरभित्रै बाढी पस्यो, सडक त बालुवाले भरिएछ’, उनी भन्दै थिए– ‘ठूला ठूला ढुंगा बजारिए, साँधी पुल भोटेकोसीमै खस्यो ।’

ग्रील पसलसँगै तयार पारि राखिएका गेट र कैंची गेटहरु बाढीमै पुरिएपछि बाह्रविसेका प्रेमबहादुर रसाइली आइतबार खनीखोस्री गर्दै थिए । ग्रील पसलमा राखिएको झण्डै सात लाख मुल्य बराबरका सामान पुरिएको उनले सुनाए । ‘दुख ग¥यो दैवले नै सहँदैनन्’, उनी भन्दैथिए, –‘सात लाखका सामान बाढीमै पुरिएका छन् ।’

निरन्तरको झरीका कारण बाह्रविसे नगरपालिका ३ र ४ नम्बर वडाको सिमानास्थित साँधी खोलामा बाढी आउँदा बाह्रविसे बजार र त्समाथिका दर्जनौं गाउँबस्तिको जनजीवन अस्तव्यस्त बनेको छ । उत्तरी सीमा नाका जोड्ने पक्की पुल नै भोटेकोसीमा खसेपछि सडक सम्पर्क टुटेको छ ।

बाढीले साँधीखोलाको पक्की पुल नै बगाएपछि बाह्रविसेमाथिका खोर्सानीवारी, जम्बु बजारसहित सीमाको भोटेकोसी गाउँपालिकासँगको सडक सम्पर्क विच्छेद भएको छ । पुल बगाउँदा मानिसहरु पैदल यात्रा गर्ने बाटो नै नभएपछि आइतबार मध्यान्ह देखि काठका फड्के हालेर स्थानीयले यात्रा गरिरहेका छन् । ‘पुल बगाउँदा बाह्रविसे बजार र खोर्सानीवारी आवत जावत बन्द थियो’, स्थानीय धु्रव बुढाथोकीले भने, ‘काठका फड्के हालेर मानिसहरु ओहोर दोहोर गरिरहेका छन् ।’ बाढीग्रस्त क्षेत्रमा पुग्दा स्कुले केटाकेटी र बृद्धबृद्धाहरु फड्केबाट कष्टकर यात्रा गरिरहेका देखिन्थे ।

ईलाका प्रहरी कार्यालय बाह्रविसेका अनुसार बाढीले बाह्रविसे बजारका दुई घर पूर्ण रुपमा क्षति भएका छन् । पुल नजिकै रहेको एउटा ग्रील पसल बाढीले पुरेको छ । एउटा पक्की पुल, दुईवटा घर र एउटा ग्रील पसलको टहरा क्षती भएको छ’, ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक चित्रबहादुर खुलालले भने । बाह्रविसेको उपल्लो भुभाग थलाडाँडामा ठूलो पहिरो खसेपछि साँधीखोलोमा अकल्पनीय बाढी आएको स्थानीय नहेन्द्रबहादुर श्रेष्ठले सुनाए ।

थलाडाँडाको पहिरोपछि साँधीखोला उर्लँदा बाह्रविसे नगरपालिका ४ स्थित ओख्रेनी, पुजारीटोल र दमाईटोलका डेढ दर्जन घरहरु क्षती भएको ओख्रेनीका स्थानीय तीर्थबहादुर राउतले जानकारी दिए । ‘झण्डै बीस घर बाढी र पहिरोले क्षती भएका छन्, अरु धेरै घरहरु जोखिममा परेका छन्’, तीर्थबहादुरले भने,–‘ पीडितहरु कोही छिमेकीका घरमा आश्रय लिएर बसेका छन्, कोही त कुम्लो बोकेर काठमाडौं गइसकेका ।’

बाढीले पुल बगाएपछि सडक विभाग र स्थानीय सरकारले सडक छिचोल्न आधा दर्जन स्काभेटर लगाएर निरन्तर प्रयास गरिरहेका छन् । बाढीले ल्याएका ठूला ठूला ढुंगा फेर्न एउटा ब्रेकर आइतबार विहानैदेखि लगाइएपनि अवेरसम्म सडक छिचोलिएको छैन । तिन वटा स्काभेटर र एउटा लोडर पनि आइतबार विहानैदेखि लगाइएको छ तर सडकको निशाना नै हराएपछि नयाँ ट्रयाक खोल्न नसकीएको हो ।

पुल बगाउँदा बजार जोगियो
बाढीले साँधीखोलाको पुल बगाउँदा बाह्रविसे बजार ठूलो क्षती हुनबाट जोगिएको छ । बाढीले बगाइ ल्याएका ढुंगाले भाँचीदा बाढीको मुल्को बजारमा पस्न नपाएको स्थानीय श्यामसुन्दर श्रेष्ठले बताए । पुल नभाँचुन्जेल बाढी बजारभित्र छि¥यो, पुल भाँचीएपछि भोटेकोसीमा खस्यो’, उनले भने, ‘पुल नभाँचीएको भए बाह्रविसे बजार पुरै डुवानमा पर्ने रहेछ ।’ साँधीखोलाको बाढी भोटेकोसीमै खसेपनि रातसाँझ पानी पर्दा बाह्रविसे बजारका स्थानीयमा त्रास फैलिइरहेको उनी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्