प्रकाण्डलाई २४ घण्टाभित्र हाजिर गराउन पुनः आदेश



काठमाडौं (नेस)
सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई २४ घण्टाभित्र हाजिर गराउन पुनः आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रकाण्डलाई बाटोको म्यादबाहेक २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको हो । गैरकानुनी थुनामा राखिएको भन्दै प्रकाण्डका छोरा वीरेन्द्र विकले आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गराउनुभएको थियो ।

सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट किन जारी हुनु नपर्ने हो त्यसको प्रमाणसहित बन्दीलाई सशरीर अदालत उपस्थित गराउन आदेश दिएको छ । प्रकाण्डविरुद्ध काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको अभियोग लगाइएको छ ।

आदेशमा भनिएको छ– ‘निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनुपर्ने हो ? आदेश जारी हुनु नपर्ने मानसिब आधार कारण र प्रमाण भए २४ घण्टाभित्र नीज निवेदक उपर कुनै प्रकारको कानुनी कारबाही चलाइएको भए सो सम्बन्धी सक्कल कागजातसहित नियमानुसार पेश गर्नु ।’

प्रहरीले प्रकाण्डलाई गत साउन २२ गते काठमाडौंको टौदहबाट पक्राउ गरेको थियो । चन्दा उठाएको अभियोगमा महानगरीय प्रहरी परिसरले पक्राउ गरे पनि उहाँलाई छोड्न सर्वाेच्चले गत शुक्रवार आदेश दिएको थियो । तर उहाँलाई एक छाडिएलगत्तै प्रहरीले अदालत परिसरबाट पक्राउ गरी काभ्रे लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्